काठमाडौँ । काठमाडौँको जडीबुटीमा मोटरसाइकल दुर्घटनामा परेर नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ । शुक्रबार ३९ वर्षीया कार्की सवार बा.९३प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
दुर्घटनामा परेर काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन् । मृतक कार्की दोलखाबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । भक्तपुरतिर जाँदै गर्दा उनीहरू सवार मोटरसाइकललाई इन्धन बोक्ने ट्याङ्करले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।








