विश्व फुटबलका सर्वाधिक चर्चित तथा सफल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो व्यावसायिक फुटबल करियरको अन्त्य नजिकिएको बताएका छन्। पोर्चुगलका कप्तान तथा साउदी क्लब अल नासरका स्टार रोनाल्डोले आगामी सिजन आफ्नो खेलाडी जीवनको सम्भावित अन्तिम वर्ष हुन सक्ने बताएका हुन्। ४१ वर्षीय रोनाल्डोको यस्तो अभिव्यक्तिपछि विश्वभरका फुटबल समर्थकमाझ उनको सन्न्यासबारेको चर्चा तीव्र भएको छ।

हालै भोगसँग गरेको अन्तर्वार्तामा रोनाल्डोले आफ्नो भविष्यबारे खुलेर कुरा गर्दै भनेका छन् यो सम्भवतः फुटबल खेलाडीका रूपमा उनको अन्तिम वर्ष हुनेछ। उनले आफूले खेलाडी जीवनबाट एउटा ‘सानदार विरासत’ छाड्न चाहेको पनि बताएका छन्। यद्यपि उनले सन्न्यासको निश्चित मिति भने घोषणा गरेका छैनन्। त्यसैले उनको पछिल्लो अभिव्यक्तिलाई औपचारिक सन्न्यास घोषणा नभई करियरको अन्तिम चरणबारे दिएको स्पष्ट संकेतका रूपमा लिइएको छ।

रोनाल्डोले सन् २००२ मा पोर्चुगलको स्पोर्टिङ क्लबबाट सिनियर फुटबल करियर सुरु गरेका थिए। त्यसपछि उनको यात्रा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस हुँदै साउदी अरबको अल नासरसम्म पुगेको हो। करिब २५ वर्षको यो यात्रामा उनले क्लब तथा राष्ट्रिय टोलीबाट विश्व फुटबलमा असाधारण प्रभाव छाडेका छन्। म्यानचेस्टर युनाइटेडमा उनले पहिलोपटक विश्वस्तरको स्टारका रूपमा आफूलाई स्थापित गरेका थिए।

त्यसपछि रियल म्याड्रिडमा पुगेपछि उनको करियरले अझ ठूलो उचाइ हासिल गर्‍यो। स्पेनिस क्लबका लागि उनले गोलमाथि गोल गर्दै क्लब इतिहासकै महान् खेलाडीमध्येमा आफ्नो नाम लेखाए। युभेन्टसमा पनि उनले इटालियन फुटबलमा आफ्नो प्रभाव कायम राखे। हाल भने उनी अल नासरबाट साउदी प्रो लिगमा खेलिरहेका छन्।

रोनाल्डोले आफ्नो करियरमा पाँचपटक बालोन डी’ओर जितेका छन्। क्लब र देशका लागि उनको गोल संख्या ९५० भन्दा माथि पुगिसकेको छ र उनी एक हजार गोलको ऐतिहासिक आँकडा नजिक पनि छन्। यही कारण उनको सम्भावित सन्न्याससँगै उनले करियरको अन्त्यअघि उक्त ऐतिहासिक उपलब्धि हासिल गर्न सक्छन् कि सक्दैनन् भन्ने विषय पनि निकै चर्चामा छ।

विश्वकप पनि बन्यो अन्तिम अध्याय

रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको एउटा महत्वपूर्ण अध्याय पनि २०२६ को विश्वकपसँगै समाप्त भएको छ। उनले यसअघि नै २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने स्पष्ट बताइसकेका छन्। यससँगै पोर्चुगलको राष्ट्रिय टोलीमा उनको भविष्यबारे पनि प्रश्न उठ्दै आएको छ। विश्वकपमा पोर्चुगलले अपेक्षित सफलता हासिल गर्न नसकेपछि रोनाल्डोको अन्तर्राष्ट्रिय यात्रामाथि थप बहस भएको थियो। लामो समयदेखि पोर्चुगलको आक्रमणको मुख्य हतियार रहेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि पनि थुप्रै ऐतिहासिक कीर्तिमान बनाएका छन्। अब क्लब फुटबलबाट पनि बिदा लिने सम्भावना बढेपछि उनको करियरको अन्तिम अध्याय सुरु भएको बताइन्छ।

सन्न्यासपछि के गर्नेछन् रोनाल्डो ?

फुटबलपछि आफ्नो जीवन कसरी बिताउने भन्ने विषयमा पनि रोनाल्डोले तयारी गरिसकेको बताएका छन्। उनका अनुसार उनले भविष्यका लागि योजना बनाइसकेका छन् र फुटबलबाट टाढिएपछि आफूलाई व्यस्त राख्ने थुप्रै काम उनले गर्ने छन्। उनले यात्रा गर्ने, परिवारसँग बढी समय बिताउने तथा आफूलाई मन पर्ने प्याडेल खेल्ने र हेर्ने योजना सुनाएका छन्। रोनाल्डोका लागि फुटबल केवल पेशा नभएर जीवनको ठूलो हिस्सा भएकाले सन्न्यासपछि आउने खालीपनलाई विभिन्न गतिविधिबाट पूर्ति गर्र्नेे उनले बताएका छन्।

यो अभिव्यक्तिले रोनाल्डोले खेलाडी जीवनपछि आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनका लागि पनि तयारी गरिरहेको देखाउँछ। पछिल्ला वर्षमा उनले फुटबलसँगै विभिन्न व्यवसाय तथा ब्रान्डमा समेत आफ्नो उपस्थिति विस्तार गरेका छन्।

एक हजार गोलको लक्ष्य

रोनाल्डोको सन्न्यासको चर्चासँगै अहिले सबैभन्दा धेरै चर्चा भइरहेको विषय उनको १,००० करियर गोलको लक्ष्य हो। उनी यो ऐतिहासिक उपलब्धिको निकै नजिक छन्। ९७६ गोल गरिसकेका रोनाल्डोका लागि अब बाँकी गोल पूरा गर्नु खेलाडी यात्राको महत्वपूर्ण लक्ष्य हो। विश्व फुटबलमा एक हजार गोलको आँकडा अत्यन्तै दुर्लभ उपलब्धि हुनेछ। त्यसैले सन्न्यासअघि रोनाल्डोले उक्त लक्ष्य पूरा गर्न सक्ने अपेक्षा उनका समर्थकहरूले गरेका छन्। उनले यसअघि पनि आफ्नो करियरमा व्यक्तिगत कीर्तिमानलाई निरन्तर पछ्याउँदै आएका छन्।

‘सानदार विरासत’ छाड्ने चाहना

रोनाल्डोको पछिल्लो अभिव्यक्तिको सबैभन्दा महत्वपूर्ण पक्ष उनको विरासतप्रतिको धारणा हो। उनले फुटबलबाट बिदा हुँदा एउटा ‘सानदार विरासत’ छाड्न चाहेको बताएका छन्। करिब २५ वर्षसम्म विश्व फुटबलको शीर्ष तहमा निरन्तर प्रदर्शन गर्नु आफैंमा असाधारण उपलब्धि हो। उनको करियरमा च्याम्पियन्स लिगका उपाधि, घरेलु लिग उपाधि, व्यक्तिगत पुरस्कार, अन्तर्राष्ट्रिय सफलता तथा असंख्य गोल समावेश छन्। पोर्चुगललाई युरोपियन च्याम्पियनसिप जिताउन उनले खेलेको भूमिका उनको राष्ट्रिय टोलीको करियरको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो।

त्यसैले रोनाल्डोको सन्न्यासले एउटा खेलाडीको करियर मात्र अन्त्य गर्ने छैन, बरु आधुनिक फुटबलको एउटा लामो र प्रभावशाली युगको अन्त्य गर्नेछ।

रोनाल्डोले ‘सम्भवतः यो मेरो अन्तिम वर्ष हो’ भने पनि उनले तत्कालै सन्न्यासको औपचारिक घोषणा गरेका छैनन्। उनको भाषा अझै केही हदसम्म सम्भावनामा आधारित छ। त्यसैले आगामी महिनामा उनको प्रदर्शन, शारीरिक अवस्था, अल नासरसँगको सम्बन्ध तथा व्यक्तिगत निर्णयका आधारमा अन्तिम निर्णय परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। हालका लागि भने विश्व फुटबलले एउटा सम्भावित बिदाइको तयारी गर्नुपर्ने अवस्था आएको छ। ४१ वर्षको उमेरमा पनि विश्वकै चर्चित खेलाडीमध्ये एकका रूपमा मैदानमा सक्रिय रहेका रोनाल्डोले यदि आगामी सिजनपछि बुट थन्क्याए भने उनको २५ वर्ष लामो यात्रालाई फुटबल इतिहासकै सबैभन्दा उल्लेखनीय करियरमध्ये एकका रूपमा सम्झिइनेछ।

‘सीआर७’ का लागि मैदानमा अन्तिम सिजन कस्तो हुनेछ भन्ने उत्सुकता अब विश्वभरका फुटबल समर्थकमा छ। एक हजार गोलको लक्ष्य, अल नासरसँगको सम्भावित सफलता र आफ्नो अन्तिम खेल—यी सबै अब रोनाल्डोको करियरको सम्भावित अन्तिम अध्यायका प्रमुख आकर्षण बन्नेछन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय