काठमाडौँः सरकारले संघीय सरकारअन्तर्गतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । यसअघि अर्थ मन्त्रालयले गत वैशाखमै संघीय कर्मचारीलाई अर्धमासिक रूपमा तलब दिने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास हुन नसक्दा कार्यान्वयनमा ढिलाइ भएको थियो । अब हरेक महिनाको १५ दिन पूरा भएपछि पहिलो चरणको तलब तथा भत्ता भुक्तानी गरिनेछ ।
चालु आर्थिक वर्षदेखि सबै संघीय निकायमा लागू गर्ने भनिएको यो व्यवस्था करिब एक महिना ढिलो कार्यान्वयनमा आएको हो ।






