काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद खत्रीले उक्त आन्दोलनमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराइन् ।
उनले सो दिन प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको बताइन् । सांसद खत्रीले आन्दोलनका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने जिकिर गरिन् ।
उनले भनिन्, ‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र शहीद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन् ।’
वर्तमान सरकार भदौ २३ को बलिदानकै जगमा बनेको उल्लेख गर्दै उनले उक्त दिन प्रधानमन्त्रीले देशव्यापी रूपमा शहीदहरूको नाममा सम्बोधन गर्दै जनतालाई स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिइन् ।






