काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रमा निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गर्दै जनस्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटो नै ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण भइरहेकोमा आपत्ति जनाएकी हुन्। उचित सूचना र पारदर्शी प्रक्रिया बिना नै निर्माण कार्य अघि बढाइएको उल्लेख गर्दै उहाँले संवेदनशील स्वास्थ्य संस्था नजिक यस्तो केन्द्र बनाउँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताएकी छन् । यस कार्यको स्थानीय बासिन्दाले समेत विरोध गरिरहेकाले उक्त क्षेत्रमा प्रशोधन केन्द्र निर्माण नगर्न उनले माग गरीन् ।
सांसद न्यौपानेले मुलुकको स्वास्थ्य बीमा कार्यक्रम लथालिङ्ग हुँदा नागरिकहरू मर्कामा परेको विषय सदनमा उठाइन् । स्वास्थ्य बीमा सुविधा नपाउँदा सर्वसाधारणको बिचल्ली भएको भन्दै उनले यस कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘मेरो क्षेत्र काठमाडौं १ को थापाथली प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा ल्याई नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु । अन्त्यमा, नेपाल राष्ट्र बैंकमा सुन धितो राखी ऋण लिएका नागरिकको सुन हराएपछि न सुन फिर्ता भएको छ, न बजार मूल्यअनुसार क्षतिपूर्ति पाएका छन् । उहाँहरूको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’






