काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले गाँजा खेतीलाई तत्काल कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै यसका लागि आवश्यक कानून र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राईले गाँजा खेतीकै कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवाहरू कानुनी झमेलामा परेको र जेल भरिएको भन्दै चिन्ता व्यक्त गरे ।

विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घले गाँजालाई लागुऔषधको सूचीबाट हटाएर औषधीय गुण भएको वनस्पतिका रूपमा प्रमाणित गरिसकेको उल्लेख गर्दै राईले विश्वका ६२ भन्दा बढी देशले यसबाट आर्थिक लाभ लिइरहेको बताए ।

छिमेकी राष्ट्र भारतले समेत गाँजाबाट वार्षिक अर्बौँ रुपैयाँ आम्दानी गरिरहेको र विश्व बजारमा यसको माग उच्च रहेको उनको तर्क छ । उनले गाँजाबाट क्यान्सर, क्षयरोग, मधुमेह र युरिक एसिड जस्ता रोगको औषधि बनाउन सकिने भएकाले नेपालमा प्रशोधन केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

पहाडी जिल्लाहरूबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न र स्थानीय तहमा रोजगारी सिर्जना गर्न गाँजा खेती कोशेढुङ्गा सावित हुने उनको दाबी छ । गण्डकी प्रदेशले यस सम्बन्धमा कानुन बनाइसकेको उदाहरण दिँदै उहाँले संघीय सरकारले ढिलाइ गर्न नहुने बताए ।

उनले भने, ‘१८ देखि ३० वर्ष उमेर समूहका धेरै युवाहरू जीविकोपार्जनका लागि गाँजा खेती गर्दा आज जेलमा छन् । यसले गर्दा धनकुटाका जनतामा निराशा र त्रास छाएको छ । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । गाँजाबाट बनेका जुत्ता, मोजा र टोपी जस्ता सामग्रीहरू प्रयोगमा आइसकेका छन् । सामग्री प्रयोग गर्न हुने तर यसको व्यावसायिक खेती र विक्री गर्न किन नहुने ? यो गम्भीर प्रश्न हो ।’

उनले गाँजा ओसारपसार र खेतीको आरोपमा पक्राउ परेका निर्दोष युवाहरूलाई तत्काल रिहा गर्न समेत माग गरे । समयमै कानून नबनाइए जनतामा व्याप्त असन्तोषले विद्रोहको रूप लिन सक्ने र त्यसले सरकारलाई अप्ठ्यारो पार्ने चेतावनी समेत उनले दिए ।

मुलुकको अर्थतन्त्र सुदृढ र मजबुत बनाउन प्राकृतिक स्रोतको रूपमा रहेको गाँजालाई वैधानिक दायरामा ल्याउनुको विकल्प नरहेको सांसद राईको निष्कर्ष छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय