काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको बैठक औपचारिक रूपमा सुरु हुन नसक्दा बागमती प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे निष्कर्षमा पुग्न अलमल भइरहेको छ ।
मंगलबार बिहान ११ बजे संसदीय दलको बैठक बस्ने भनिए पनि एमालेका सांसद दुई समूहगत छलफलमा व्यस्त छन् ।एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईसहितको उपस्थितिमा संसदीय दलको नेता तथा भावी मुख्यमन्त्री चयन गर्ने सवालमा छलफल चलिरहेको छ । हेटौँडामा बस्नेत, भट्टराईले प्रदेश सभा सदस्य एवं मुख्यमन्त्री पदका आकाङ्क्षी किरण थापा, संसदीय दलका नेता जगन्नाथ थपलिया(जेएन)सहितसँग छलफल गरी सहमतिमै निकास खोज्ने प्रयास गरेका छन् । यद्यपि सहमति जुट्न सकेको छैन ।छलफलमा सहभागी स्रोतका अनुसार संसदीय दलका नेता थपलियाले आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव सामना गर्ने अडान लिएका छन् । छलफलका क्रममा उनले नयाँ सरकार गठनका लागि प्रदेश सभामा आवश्यक बहुमत जुटाउन राप्रपाको समर्थन आवश्यक रहेको भन्दै राप्रपाको समर्थन ल्याउन सकेको खण्डमा मुख्यमन्त्री बन्न मार्गप्रशस्त गरिदिने बताए ।
‘मुख्यमन्त्री म नै बन्नुपर्छ भन्ने छैन,’ थपलियाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राप्रपाको समर्थन लिएर आउनुहुन्छ भने मुख्यमन्त्री जो बने पनि हुन्छ, तर संसदीय दलको नेता पदचाहिँ म छाड्दिनँ ।’






