काठमाडौं-३१ साउनमा नेपाल आइपुगेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ बुधबार बिहान पोखरा आउने भएपछि भूतपूर्व भारतीय सैनिक र परिवारलाई बिहानै रामबजारस्थित पेन्सन क्याम्पमा डाकियो।

भूपू गोर्खा सैनिक, भारतीय सेनामा कार्यरत हुँदा ज्यान गुमाएका परिवार (वीर नारी) र घाइते पूर्वसैनिकहरूलाई राष्ट्रिय पदक, सम्मान पत्र तथा मोबिलिटी स्कुटर वितरण गर्ने कार्यक्रम थियो । त्यसअघि सेना प्रमुख सेठले पोखरामा भूपू सैनिक र परिवारका नाममा भारतले दिइरहेको सुविधा, भावी योजना र उनीहरूको सम्मानमा सम्बोधन गर्ने कार्यसूची थियो ।

भारतीय सेनामा भर्ती भएर पोखराबाट पेन्सन बुझ्ने भूतपूर्व सैनिक तथा परिवारका सदस्य ६० हजारभन्दा बढी छन् भने नेपालभरि १ लाख २० हजार छन् ।

पोखराबाट पेन्सन बुझ्ने भूपू सैनिक तथा परिवारका सदस्यहरू ठूलै संख्यामा भेला भएका थिए । उनीहरूको चासो थियो, ‘भारतीय भूपू सैनिक र परिवारप्रति सेना प्रमुखले कसरी सोच्छन् ? भारतले कस्तो खालको सुविधा विस्तार गर्छ ? र, अग्निपथ योजनाअन्तर्गत नेपालका तर्फबाट अग्निवीर भर्ती खुलाउन कस्तो खालको समन्वय गर्ला ?’

भूपू सैनिकहरूले उनी आउने बित्तिकै आफ्ना कुरा राख्न पाइएला र अग्निपथ भर्तीबारे कुरा राखौंला भन्ने योजना बनाएका थिए । कार्यसूचीमा प्रश्न राख्ने तालिका नभएको तर सेठले भूपू र परिवारसँग भेटघाट, अनौपचारिक कुराकानी भने गर्न सक्ने बताइयो ।

भारतीय सेना प्रमुख सेठले भूपू सैनिक, परिवारको कल्याणका निम्ति कुनै कसर बाँकी नराख्ने बताए भने विभिन्न पदकहरूसमेत प्रदान गरे । पदक वितरण गर्दा र पछि भेटघाटमा पनि सेठले हात मिलाउँदै हालखबर सोध्ने, अनौपचारिक कुरा गर्ने गरिरहेका थिए ।

त्यही क्रममा भारतीय पूर्वसैनिक कल्याणकारी संघ नेपालका सहअध्यक्ष तथा गण्डकीका अध्यक्ष क्याप्टेन गजबहादुर थापाले भारतीय भूपू सैनिक र परिवारले खेपेको समस्या राखे । उनले अग्निपथ भर्ती खुलाउनुपर्ने माग राख्दै आफूहरूले आवाज उठाइरहेको र नेपाल सरकारसँग पनि भारतले कुरा राख्न थापाले सेठलाई आग्रह गरे ।

‘भर्तीबारे हामीले आवाज उठाएका छौँ । नेपाल र भारतको मित्रता भइरहने छ, चलिरहने छ । तपाईंहरूले कुरा गर्नुपर्छ, हामीले फाइट गरेका छौँ । भर्ती हुनेछ, भर्ती खुल्नेछ,’ गजबहादुरले सेठसँग भने । सेठले हात मिलाउँदै टाउको हल्लाए ।

थापाले अग्निथप योजनामा भर्ती खुलाउनेबारे आवाज उठाइरहेको र अब भारतको तर्फबाट पनि कुरा गर्न आग्रह गरेका थिए । साथै, उनले कागजात नमिलेकै कारण धेरै भारतीय भूूपू सैनिकका परिवारले पेन्सन पाउन समस्या परिरहेको विषय पनि राखे ।

सेठले अहिले पेन्सनमा समस्या भएकोबारे चासो राखे । थापाले कतिपय परिवारले कागजात नमिलेका कारण दुःख पाइरहेको बताउँदै भर्ती खुलाउनेबारे कुरा राखेका थिए ।

अग्निपथ योजनामा नेपालले भर्ती गराउन अनुमति नदिँदा घाटा परिरहेकाले यो विषय सुरुमै राख्ने योजना बनाएकोमा भेटघाटमै क्रममा भए पनि राखेको थापाले बताए । ‘भर्ती खुल्ने हो भने धेरै बेरोजगार युवाले छोटो समय भए पनि सेवा गर्छन्, पैसासँगै अनुभव पनि बटुल्छन् र त्यो अनुभव थुप्रै देशमा काम लाग्छ । यसले देशमा रेमिट्यान्स पनि भित्रिन्छ,’ थापाले अनलाइनखबरसँग भने, ‘तर भर्ती रोकिँदा धेरै युवा खाडी पलायन भइरहेका छन् । नेपालले अग्निपथ योजनामा पठाउन सहयोग गरिदिनुपर्छ ।’

अग्निपथ योजना भारत सरकारले आफ्नो स्थलसेना, नौसेना र वायुसेनामा जवानहरूको भर्नाका लागि १४ जुन २०२२ (३१ जेठ २०७९) देखि लागु गरेको नयाँ अल्पकालीन सैन्य योजना हो । यो योजनाअन्तर्गत भर्ती हुने युवाहरूलाई अग्निवीर भनिन्छ र सेवा अवधि जम्मा ४ वर्षको हुन्छ ।

४ वर्ष सेवा गरेपछि २५ प्रतिशत उत्कृष्ट अग्निवीरहरूलाई मात्र स्थायी सैनिकका रूपमा निरन्तरता दिने अग्निपथ योजनामा छ । ७५ प्रतिशतलाई पेन्सनको सुविधाबिना एकमुष्ठ ‘सेवा निधि’ प्याकेज दिएर अवकाश दिइन्छ ।

भारतले यो योजना लागु गरेपछि नेपालबाट भारतीय सेनामा हुँदै आएको परम्परागत गोर्खा भर्ती पूर्ण रूपमा ठप्प छ । नेपाल सरकारले यस योजनाप्रति असहमति जनाउँदै नेपालमा हुने भर्ती ¥याली रोक्नुका पछाडि मुख्यतया तीन वटा कारण छन् ।

नेपाल सरकारले अग्निपथका सर्तहरू परिमार्जन नभएसम्म वा सहमति नजुटेसम्म भर्ती हुन नदिने निर्णय गरेकाले सन् २०२२ यता नेपालबाट गोर्खा सैनिक भारतीय सेनामा भर्ना हुन पाएका छैनन् । त्यसैले भारतीय भूपू सैनिकहरूको नेतृत्वमा पोखरामा प्रदर्शन गरेका थिए भने तत्काल अग्निपथ योजनामा भर्ती खुलाउन जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

भूपू सैनिकहरूले अग्निपथ योजनामा भर्ती खुलाएर पठाउँदा नेपाललाई घाटा नपर्ने, उत्कृष्ट युवाहरूले स्थायीको अवसर पाउने, नेपालले रेमिट्यान्स पाउने, भारतीय सेनाको अनुभवलाई नेपाल तथा अन्य देशमा पनि युवाहरूले प्रयोग गर्न पाउने बताउँदै आइरहेको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेडका अध्यक्ष कृष्णबहादुर खत्रीको भनाइ छ ।

भारतीय सेनाका स्थल प्रमुख जनरल धीरज सेठको गोर्खा राइफल्स र ब्रिगेडको पृष्ठभूमि होइन । तर जम्मु–कश्मीरमा काउन्टर–इन्सरजेन्सी कमान्ड गर्दा र उच्च पदहरूमा रहँदा गोर्खाली सैनिकहरू सम्मिलित विभिन्न बटालियनहरू र संयुक्त सैन्य टोलीसँग निकट रहेर काम गरेका थिए ।

सेठ भारतीय सेनाको ३१औँ सेनाध्यक्ष हुन् । उनले ३० जुन २०२६ मा पूर्वसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको अवकाशपछि यो सर्वोच्च पदको जिम्मेवारी सम्हालेका हुन् । उनी डिसेम्बर १९८६ मा भारतीय सेनाको ‘आर्मर्ड कप्र्स’ अफिसरका रूपमा भर्ना भएका थिए । उनी करिब ३ दशकपछि आर्मर्ड कप्र्सबाट भारतीय सेनाको सर्वोच्च पदमा पुगेका हुन् ।

उनीसँग भारतीय भूपू सैनिकले पेन्सनका निम्ति परिवारले खेप्नुपरेको समस्या सहजीकरण गरिदिन पनि आग्रह गरेका छन् । कागजात नमिलेकै कारण नेपालमा अहिले पनि ८–१० हजार भूपू सैनिकका श्रीमतीले पेन्सन पाउन नसकिरहेको गजबहादुरले बताए ।

उनले सेना प्रमुख सेठसँग फोटोको अनुहार हेरेर पेन्सन दिने गरी सहजीकरण गरिदिन आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालयले नाम फरक हुँदै एउटै व्यक्ति भएको कागज गराइदिए भने अन्य कागजात खोजेर दुखा दिइने र कतिपयले पेन्सनै समेत नपाइरहेकाले यो समस्या सेठसँग राखेको गजबहादुरले अनलाइनखबरसँग बताए ।

‘आज हाम्रो अनुहार र फोटोमा हेरेर, हाम्रो परिवारको औँठाछाप (थम्बप्रिन्ट) हेरेर पेन्सन दिलाइयोस्,’ गजबहादुरले सेठसँग माग राखेका थिए । सेठले भूपू सैनिकका समस्या सुन्दै हात मिलाउँदै, फोटो खिचाउँदै हिँडिरहेका थिए । त्यसभन्दा अगाडि सेठले भूपू सैनिकहरूलाई योद्धाको रूपमा हेरेको बताउँदै सदैव साथमै रहने कल्याणको काम गरिरहने प्रतिबद्धता जनाएका थिए ।

‘भारतीय सेनासँग गोर्खा जवानहरूको सम्बन्ध एक गौरवमय इतिहास हो, जहाँ उनीहरूले हरेक युद्ध र हरेक चुनौतीमा अद्भुत साहस र कर्तव्यनिष्ठाको प्रदर्शन गरेका छन्,’ सेठले भने, ‘आज नेपालको यस धरतीमा आफ्ना वीर एक–सर्विसमेन (भूतपूर्व सैनिक) हरूको बीच उभिएर मलाई गर्व छ, गोर्खा वीरहरूको यो महान् परम्परा आज पनि त्यत्तिकै मजबुत र जीवन्त छ ।’

पूर्वभारतीय सैनिक र परिवारलाई विभिन्न पदक र सम्मान

पोखराको रामबजारस्थित पेन्सन वितरण क्याम्पमा भारतीय सेना प्रमुख धीरज र उनको धर्मपत्नी एवं आर्मी वाइभ्स वेलफेयर एसोसिएसनकी अध्यक्षा कोमल सेठले भारतीय सेनामा सेवारत रही बहादुरी देखाउने, सेवा र सर्वोच्च बलिदान दिनेहरूलाई विधिन्न पदक र सम्मान गरिन् ।

भूपू गोर्खा सैनिक, शहीदका परिवार (वीर नारी) तथा घाइते सैनिकहरूलाई विभिन्न श्रेणीका राष्ट्रिय पदक, सम्मान पत्र र मोबिलिटी स्कुटर प्रदान गरियो । उनीहरूलाई ६ प्रकारका प्रमुख पदक, सम्मान तथा राहत सामग्री वितरण गरिएको छ ।

वीरता र सर्वोच्च साहस देखाएवापत दिइने भारतको दोस्रो उच्च सैन्य सम्मान ‘कीर्ति चक्र’ दिलबहादुर थापालाई प्रदान गरिएको छ । जसले जम्मु–कश्मीरको अति संवेदनशील ‘अपरेसन रक्षक’ मा आतंककारीविरुद्धको कारबाहीमा साहसिक प्रदर्शन गरेका थिए ।

त्यसैगरी शान्तिकालको तेस्रो उच्च वीरता सम्मान ‘शौर्य चक्र’ केशबहादुर क्षेत्रीलाई ‘अपरेसन रक्षक’ कै क्रममा देखाएको साहसिक योगदानका लागि प्रदान गरिएको थियो ।

सैन्य कारबाहीका क्रममा साहस र कर्तव्यनिष्ठा देखाउने ७ जना वीर सैनिकहरूलाई ‘सेना मेडल’ बाट विभूषित गरिएको छ । सेना मेडल प्राप्त गर्नेहरूमा सियाचिन ग्लेसियरको कठिन भूभागमा सञ्चालित ‘अपरेसन मेघदूत’ मा साहस देखाउने चुमनसिंह गुरुङ र गणेशबहादुर याखो लिम्बू छन् ।

‘इन्डो–युएस मान्ना माउन्टेन एक्स्पेडिसन’ मा उच्च योगदान पुर्‍याउने रामप्रसाद गुरुङ, ‘अपरेसन रक्षक’ मा बहादुरी देखाउने कृष्णबहादुर क्षेत्री र मीनबहादुर गुरुङ, ‘अपरेसन हिफाजत’ मा खटिएका शुभराज राई तथा ‘अपरेसन रहिनो’ मा विशिष्ट योगदान पु¥याउने होबिर सेनलाई सेना मेडल प्रदान गरिएको छ ।

भारतीय सेनामा लामो समयसम्म उच्च तहको विशिष्ट सेवा  पुर्या‍एबापत ठाकुरप्रसाद पौडेललाई प्रतिष्ठित ‘विशिष्ट सेवा मेडल’बाट सम्मानित गरिएको छ । लामो समय निष्ठापूर्वक सेवा सम्पन्न गरी सेवा निवृत्त भएका ९ जना वरिष्ठ पूर्वसैनिकहरू दलबहादुर पुन (म्याग्दी), रेशमबहादुर क्षेत्री (चितवन), किसनबहादुर थापा (बुटवल), ताराप्रसाद श्रेष्ठ (स्याङ्जा), विदुर थापा (सुनसरी), कुलबहादुर खत्री (स्याङ्जा), जगतप्रसाद गुरुङ (कास्की), कर्णबहादुर गुरुङ (सुनसरी) र मबिराज राई (सुनसरी) लाई ‘योद्धा सेवा सम्मान’ प्रदान गरिएको छ ।

त्यही क्रममा विभिन्न युद्ध तथा सैन्य अभियानहरूमा ज्यान गुमाएका १० जना सैनिकका धर्मपत्नी तथा आमाहरू (वीर नारी) लाई पनि सम्मान गरिएको थियो । पदमकुमारी गुरुङ, विष्णुमाया थापा, रत्न देवी र पिउमाया गुरुङ, धनुकुमारी खत्री, कलावती पुन (भाविसरा थापा), केशकुमारी गुरुङ, गुड्डुमाया गुरुङ, कमला थापा र धनमाया गुरुङलाई सम्मान गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय