काठमाडौं । गुगलको जेमिनाई मोडलले आफ्नो साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर अन्य कम्पनीहरू ह्याक गरेको छ। गुगलको एआई प्रणालीले स्वतःस्फूर्त रूपमा यस्तो कार्य गरेको यो पहिलो घटना हो।

यो ह्याकिङ घटना मे महिनामा भएको थियो। साइबर सुरक्षा मूल्याङ्कन गर्ने स्वतन्त्र कम्पनी ‘इर्रेगुलर’ ले यो परीक्षण सञ्चालन गरेको थियो। एक मानक परीक्षण मूल्याङ्कनका क्रममा जेमिनाईले अनलाइनमा सार्वजनिक जानकारी फेला पार्‍यो ।

त्यसपछि उसले परीक्षणको दायराभित्र परेको ठानेर तीनवटा वेबसाइटमा पहुँच पाउन क्रिडेन्सियल अनुमान गर्यो। गुगलका सेक्युरिटी इन्जिनियरिङ उपाध्यक्ष हेदर एडकिन्सले एक वक्तव्यमा यो कुरा बताएकी छिन्। ‘हामीले ती तीनवटै निकायलाई जानकारी गराएको सुनिश्चित गर्यौँ। हामीले हाम्रा तालिम साझेदारसँग उनीहरूले परीक्षण प्रक्रियामा गरेका परिवर्तनहरूमा काम गर्यौं’, एडकिन्सले भनिन्, ‘यी घटनाहरूले शक्तिशाली एआई मोडलहरूलाई जिम्मेवार रूपमा काम गर्न तालिम दिनुको महत्त्वलाई उजागर गर्छन्।’

इर्रेगुलरका प्रवक्ताले यो घटना अन्य एआई ल्याबहरूलाई असर गर्ने उस्तै मुद्दाहरूसँग सम्बन्धित रहेको बताएका छन्। उनले जुलाईको अन्त्यतिर सबै सम्बन्धित ल्याबहरूलाई सूचित गरिएको जानकारी दिएका छन्। ‘हाम्रो तर्फबाट देखिएका सबै ज्ञात समस्याहरू हप्ताअघि नै समाधान भइसकेका छन्’, प्रवक्ताले भने।

इर्रेगुलरसँग सम्बन्धित यस्तै घटनाहरू मेटा, एन्थ्रोपिक र ओपनएआईले पनि सार्वजनिक गरेका थिए। मेटाले अगस्टमा यो घटनामा कुनै स्यान्डबक्स स्केप वा परिष्कृत साइबर आक्रमण समावेश नरहेको बताएको थियो। इर्रेगुलरले सुरक्षित रूपमा एआई साइबर सुरक्षा मूल्याङ्कन सञ्चालन गर्नका लागि उत्तम अभ्यासहरूमा काम गरिरहेको बताएको थियो।

एआई एजेन्टहरूले उच्च स्वायत्तताका साथै इन्टरनेट र कम्प्युटर प्रणालीहरूमा पहुँच पाउँदै जाँदा आवश्यक सुरक्षा उपायहरूमाथि प्रश्न उठेका छन्।

भित्री प्रणालीमा पहुँच नपाएसम्म जेमिनाई मोडलले पासवर्डहरू अनुमान गरिरहेको थियो। अन्य दुई अवस्थामा मोडलले सार्वजनिक भण्डारमा क्रिडेन्सियलहरू भेट्टायो र त्यसपछि सुरक्षित प्रणालीहरूमा पहुँच बनायो। द वाल स्ट्रिट जर्नलले शुक्रबार पहिलोपटक यो खबर छापेको थियो।

एडकिन्सका अनुसार तीनवटै अवस्थामा मोडलले आफ्नो ह्याकिङ रोकेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय