काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबका राज्यनियन्त्रित उर्जा कम्पनी ‘अरामको’ का संरचनासहित अन्य स्थानमा पुनः आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ।

अमेरिका-इजरायल र इरानबिचको युद्धका कारण पहिले नै प्रभावित बनेको इन्धन आपूर्तिमा थप अवरोध आउने त्रासका कारण बिहीबार विश्वव्यापी मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको हो। नोभेम्बरका लागि तय गरिएको ब्रेन्ट फ्युचर्सको मूल्य बिहीबार प्रतिब्यारल १०८ डलरसम्म पुगेर १०६.५० डलरभन्दा माथि बन्द भएको थियो। एसियाली बजारमा शुक्रबार बिहान मूल्यमा केही गिरावट आई प्रतिब्यारल १०५.७७ डलर कायम भएको छ। हुथी समूहले रियादस्थित संवेदनशील क्षेत्र र लाल सागर किनारको यान्बुमा रहेको अरामकोका संरचनामा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। हुथी सञ्चालित समाचार एजेन्सीका अनुसार दुवै अपरेसन सफलतापूर्वक सम्पन्न भएका छन्।

यता साउदी नेतृत्वको गठबन्धन सेनाले हुथीले प्रहार गरेका ६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र बिचैमा खसालेको जनाएको छ। आक्रमणबाट कुनै क्षति वा मानवीय क्षति भयो/भएन भन्ने विषयमा साउदी अधिकारीहरूले आधिकारिक पुष्टि गरेका छैनन् भने विश्वव्यापी तेल मागको १० प्रतिशत आपूर्ति गर्ने अरामकोले पनि प्रतिक्रिया दिएको छैन।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिका र इरानबिच सात महिना लामो द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयास भइरहेका बेला यो आक्रमण भएको हो। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावअघि नै वासिङ्टन युद्ध अन्त्यसम्बन्धी समझदारी पत्रमा फर्कने आशा व्यक्त गरेका छन्।

सिड्नीस्थित केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररका अनुसार महत्वपूर्ण आपूर्ति मार्ग र संरचनाहरू अझै पनि जोखिममा रहेकाले तेलको मूल्य उच्च नै रहनेछ। कूटनीतिक प्रयास भइरहे पनि ठोस सहमति नभएसम्म मूल्य घट्ने सम्भावना नरहेको उनको भनाइ छ।

सिङ्गापुरको स्पार्टा कमोडिटिजका वरिष्ठ तेल बजार विश्लेषक जुन गोहका अनुसार इरानसँगको युद्ध जारी रहेसम्म तेलको मूल्य प्रतिब्यारल १०० डलरभन्दा माथि नै रहनेछ। स्पष्ट समाधान नदेखिएकाले विश्वव्यापी रूपमा तेलको मौज्दातमा अन्तर झन् बढ्दै गएको उनले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय