काठमाडौँ, असोज ५ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जाने तय भएसँगै नेपाल र भारत दुवै पक्ष त्यसको तयारीमा जुटेका छन् ।

आगामी नोभेम्बरमा प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने निश्चित भएसँगै तयारी तीव्र पारिएको छ । परराष्ट्र मन्त्रालयका एक जना सहसचिवले भने, ‘दुई देशबिच हुने उच्चस्तरीय भ्रमणका लागि मन्त्रालय जहिले पनि तयारी अवस्थामा हुन्छ । तर अहिले प्रधानमन्त्री बालेन भारत जाने नै भएपछि त्यसलाई थप तीव्रता दिइएको हो ।’नेपाल–भारतबिच भएका विभिन्न सम्झौता तथा कार्यान्वयन योजनाका बारेमा अध्ययनको काम सुरु भएको छ । खासगरी यसपटकको भ्रमणको मुख्य एजेन्डा भौतिक पूर्वाधार निर्माण नै रहने ती सहसचिवले बताए ।

भोटेकोशीमा आएको बाढीका कारण धेरै ठुलो क्षति भएको छ । त्यसको उद्धार, राहत तथा खोजीमा भारतको ठुलो योगदान रहेको र त्यसमा भारतले थप सहयोग गर्न चाहेको बताइएको छ । त्यसका लागि के–कस्तो सहयोग हुन सक्छ भन्ने विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए ।

त्यसका साथै भारतको सहयोगमा निर्माण भएका केही परियोजनाको उद्घाटनको पनि तयारी चलिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतको सहयोगमा निर्माण भएको नेपाल प्रहरी एकेडेमी, भैरहवामा रहेको एकीकृत जाँच चौकी (आईसीपी) तथा दार्चुलास्थित महाकाली नदीको पुल उद्घाटन गर्ने तयारी चलिरहेको छ । यी परियोजनाको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले गर्ने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालस्थित भारतीय दूतावाससँग यी विषयमा समन्वय भइरहेको छ । दुवैतर्फबाट कागजातहरू आदानप्रदान भइरहेको छ । यो प्रारम्भिक तयारी हो ।

तयारीका लागि दुवै देशबाट उच्चस्तरीय भ्रमण पनि हुनेछ । ती अधिकारीले भने, ‘सम्भवतः तयारीका लागि नेपालबाट चाँडै नै एउटा उच्चस्तरीय टोली भारत जानेछ, त्यसमा परराष्ट्रमन्त्री वा त्यस्तै उच्च तहका अरू कोही हुन सक्छन् ।’ भारतबाट पनि उच्च अधिकारी आउने तयारी भइरहेको छ ।

हालै अर्थमन्त्री स्वर्णिम वाग्ले भारतको दुईदिने भ्रमण गरेर फर्किसकेका छन् । उनी भारतबाट फर्केपछि मात्र प्रधानमन्त्री बालेनको भारत भ्रमण निश्चित भएको हो । यसअघि पनि भ्रमणमा जाने कुराकानी चलिरहे पनि मिति निश्चित हुन सकेको थिएन । अर्थमन्त्री वाग्लेको भारत भ्रमणपछि भने यो तय भएको हो ।

यसैबिच, परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशङ्करबिच अमेरिकामा भेटघाट भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै मन्त्रीबिच त्यहाँ ‘साइडलाइन’ वार्ता भएको हो । उक्त वार्तामा पनि प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी चलिरहेको बताए । उनले दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने गरी तयारी भइरहेको बताउँदै भ्रमणको मिति भने अझै तय नभइसकेको जानकारी दिए ।

२०८२ चैतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारत भ्रमणका लागि निम्तो आएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा बधाई दिने क्रममा पनि भ्रमणको निम्तो दिएका थिए ।

पछि उनले लिखित रूपमै निम्तो पठाएका थिए । निम्तो स्वीकार गरे पनि बालेन तत्काल भ्रमणमा जान तयार भएनन् । उनले आफू एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने भन्दै टार्दै आइरहेका थिए ।

उनी भारत नजाने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) ले निम्तो दिएर बोलाएको थियो । उनलाई भारतमा तामझामका साथ स्वागत गरिएको थियो । प्रधानमन्त्री मोदीदेखि अन्य उच्च अधिकारीहरूसँग पनि सभापति लामिछानेको भेटवार्ता भएको थियो ।

उनी फर्केपछि प्रधानमन्त्री बालेनलाई भारत भ्रमण गराउने प्रयासहरू निकै भएका थिए । भारतले कूटनीतिक रूपमा समेत पहल गरिरहेको थियो । भारतका सेनाप्रमुख नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका थिए । त्यतिबेला पनि भ्रमणको विषयमा कुराकानी भएको थियो ।

नेपाली अधिकारीहरू भारत भ्रमणमा गएका बेला पनि यसको चर्चा हुने गर्थ्यो । भारतीय विदेश मन्त्रालयले औपचारिक रूपमै प्रधानमन्त्री बालेनलाई भ्रमणका लागि निम्तो पठाउँदै चाँडै भ्रमण हुने बताउँदै आइरहेको थियो । अन्ततः प्रधानमन्त्री बालेन भारत भ्रमणमा जान तयार भएका छन् । अब भ्रमणको औपचारिक मिति घोषणा हुन मात्र बाँकी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय