मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दो क्रममा रहेको छ । पछिल्लो १२ घण्टाको अवधिमा मात्रै कुलेखानी जलाशयमा जल सतह १.२ मिटरले भरिएको आयोजनाले जनाएको छ ।
जलाधार क्षेत्रमा बिहीबारदेखि लगातार भइरहेको वर्षा र शुक्रबार बिहानदेखि पानीको पर्ने क्रम बाक्लो हुँदा जलाशयको सतह प्रतिघण्टा १० सेन्टिमिटरको दरले बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रह्लाद राउतले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ६ बजे कुलेखानी जलाशयमा १ हजार ५२२.३१ मिटर पानी मापन गरिएको थियो भने साँझ ७ बजेसम्म आइपुग्दा जल सतह बढेर १ हजार ५२३.५१ मिटर पुगेको छ ।यसरी लगातार पानीको सतह बढ्दै गएपछि अब पूर्ण क्षमतामा जलाशय भरिन जम्मा ६ मिटरमात्र बाँकी रहेको छ । कुलेखानी जलाशयमा अधिकतम १ हजार ५३० मिटर पानी सङ्कलन गर्न सकिने क्षमता रहेको छ । हाल जलाशयको पूर्ण क्षमतामा पुग्न ६ मिटर बाँकी रहे पनि आत्तिनुपर्ने अवस्था नरहेको प्रमुख राउतले बताए ।जलाधार क्षेत्रमा पानीको सतह बढ्दै गएपछि जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीन वटै युनिटहरू २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । तीन वटै युनिट २४ घण्टा चलाउँदा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गरेको आयोजनाले जनाएको छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी कुल १०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।जलाधार क्षेत्र १६६ वर्ग किलोमिटर रहेको कुलेखानीमा पानीको सतह उच्च भएर जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सुरक्षाका लागि साइरनको व्यवस्था गरिएको छ । आयोजनाका अनुसार जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ भने १ हजार ५३० मिटरभन्दा बढी पानी भएमा बाँधका ढोकाहरू खोल्नुपर्ने हुन्छ । बाँधका ढोकाहरू खोल्नु अघि ३ चरणमा साइरन बज्ने र सोही अनुसार सतर्कताका लागि संयन्त्र परिचालन गरिएको जनाइएको छ ।








