काठमाडौँ । साउदी अरेबिया, टर्की र पाकिस्तानले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरेबियालाई सहयोग गर्ने उपायबारे छलफल गर्न तीन देशका सैन्य प्रमुखबिच आकस्मिक बैठक गर्ने घोषणा गरेका छन् ।

यो घोषणा बिहीबार न्युयोर्कमा साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउद, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डार र टर्कीका विदेशमन्त्री हाकान फिदानबीच भएको बैठकपछि गरिएको हो ।तर सैन्य प्रमुखहरूको बैठक कहिले बस्ने र साउदी अरेबियालाई कस्तो प्रकारको सहयोग उपलब्ध गराउने भन्नेबारे भने तीन देशले स्पष्ट पारेका छैनन् । साउदी अरेबिया, टर्की र पाकिस्तानले अगस्ट ७ मा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताको उद्देश्य तीन देशबीच सामूहिक प्रतिरोध क्षमता बलियो बनाउनु तथा रक्षा सहकार्य विस्तार गर्नु हो । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइनेछ ।सम्झौताअन्तर्गत संयन्त्र निर्माण गर्ने प्रक्रिया पनि तीन देशले अघि बढाएका छन् । अगस्ट ३१ मा इस्तानबुलमा तीन देशका विदेश तथा रक्षामन्त्री र सैन्य प्रमुखहरूको पहिलो रणनीतिक राजनीतिक तथा रक्षा समितिको बैठक बसेको थियो । बैठकले साउदी अरेबियामा समितिको सचिवालय स्थापना गर्ने तथा सैन्य सहकार्य थप गहिरो बनाउने निर्णय गरेको थियो ।

बिहीबार न्युयोर्कमा भएको विदेशमन्त्रीस्तरीय बैठकले साउदी अरेबियाको मक्का लगायतका क्षेत्र तथा नागरिक र आर्थिक पूर्वाधारलाई लक्षित गरिएका आक्रमणको निन्दा गरेको छ । बैठकले संयुक्त राष्ट्रसंघीय बडापत्रको धारा ५१ अन्तर्गत साउदी अरेबियालाई आत्मरक्षा गर्ने अधिकार रहेको पनि दोहोर्‍याएको छ ।

यमनबाट साउदीमाथि क्षेप्यास्त्र आक्रमण

तीन देशबीच कूटनीतिक तथा सुरक्षा सहकार्य तीव्र पार्ने घोषणा यमनबाट साउदी अरेबियामाथि नयाँ आक्रमण भएको रिपोर्टसँगै आएको हो । साउदी अरेबियाले बिहीबार यमनबाट ताइफ र यान्बुतर्फ प्रहार गरिएका छवटा ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ ।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मल्कीले हुथी समूहबाट हुने थप आक्रमणको ‘दृढतापूर्वक सामना गरिने’ बताएका छन् । साउदी रक्षा अधिकारीहरूले केही क्षेत्रमा सुरक्षा सतर्कता जारी गरेपछि खतरा टरेको बताएका थिए ।

हुथीहरूले भने रियादमा रहेको एउटा ‘संवेदनशील क्षेत्र’ तथा यान्बुमा रहेको साउदी अराम्कोका संरचनामाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसैबीच, फ्रान्सले पनि साउदी अरेबियालाई रक्षात्मक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यान्बुको सुरक्षाका लागि सैन्य सामग्री पठाउने बताएका छन् ।

बिहीबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा म्याक्रोंले यान्बुको सुरक्षाका लागि सैनिक, राडार तथा रक्षा प्रणालीसहितका सैन्य स्रोत पठाउने बताएका हुन् ।

यमनमा भीषण भिडन्त, २४ घण्टामा कम्तीमा १५० मारिए

सीमापार आक्रमणसँगै यमनभित्र पनि पछिल्लो समयको सबैभन्दा भीषण लडाइँ भइरहेको छ । सञ्चार माध्यमका अनुसार, शुक्रबार अघिको २४ घण्टामा यमनका विभिन्न मोर्चामा भएको भिडन्तमा कम्तीमा १५० हुथी लडाकु तथा सरकार समर्थित सुरक्षाकर्मी मारिएका छन् ।

एएफपीका अनुसार मृत्यु हुनेमा सरकार समर्थित पक्षका ९८ र हुथी समूहका ५२ जना छन् । बाब अल–मन्देब जलमार्गलाई हेर्ने कहबुब पहाड तथा लहज र ताइजबीचका क्षेत्रमा भिडन्त भएको बताइएको छ ।

हुथीहरूले यमनको लालसागर तटीय क्षेत्रमा आफ्नो उपस्थिति पनि विस्तार गरेका छन् । उनीहरूले मोखा बन्दरगाह सहर तथा केही रणनीतिक टापुहरू आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । यसबाट विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक बाब अल–मन्देब आसपास हुथीहरूको स्थिति थप बलियो बनेको छ । सामान्य अवस्थामा विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा यही जलमार्ग हुँदै आवतजावत गर्छ ।

यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले अन्तर्राष्ट्रिय समुदायको थप संलग्नताका लागि आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै उसले बाब अल–मन्देब आसपास हुथीहरूको नियन्त्रणले विश्व अर्थतन्त्रमा व्यापक जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

उपराष्ट्रपति अब्दुल्लाह अब्दुलकादेर अल–अलिमी–बावजरले हुथीहरूले समुद्री आवागमनको स्वतन्त्रतालाई दबाब सिर्जना गर्ने माध्यम बनाएको आरोप लगाए । उनले हुथीहरूको गतिविधिले ‘सम्पूर्ण विश्व अर्थतन्त्रलाई बन्धक बनाइरहेको’ बताएका छन् ।

सेप्टेम्बरयता २ लाख ३० हजारभन्दा बढी विस्थापित

यमनमा पुनः चर्किएको द्वन्द्वका कारण सेप्टेम्बरको सुरुदेखि २ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले जनाएको छ ।

यूएनएचसीआरका अनुसार पछिल्लो विस्थापनसँगै यमनमा यसअघि नै आन्तरिक रूपमा विस्थापित करिब ५२ लाख मानिस छन् । होदेदाह, ताइज, लहज, अदन, अब्यान, मारिब, अल–दालेआ र शब्वाहलगायत प्रान्तमा परिवारहरू विस्थापित भएका छन् । धेरै परिवार छोटो सूचनामै घर छाड्न बाध्य भएका छन् र थोरै सामान मात्र लिएर सुरक्षित स्थानतर्फ भागेका छन् ।

विस्थापित तथा प्रभावित समुदायका लागि तत्काल आवास, खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवा र सुरक्षा मुख्य आवश्यकता बनेका छन् । यूएनएचसीआरका अनुसार विस्थापितलाई आश्रय दिएका स्थानीय समुदाय र शिविरहरूमाथि पनि दबाब बढ्दै गएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय