विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।
विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो ।
कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ ।
कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।
वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।








