अमेरिकाको टेक्सासस्थित एउटा आप्रवासन अदालतमा सोमबार २५ जना आप्रवासी बालबालिका न्यायाधीशसमक्ष उपस्थित भए । कोही ६ वर्षका थिए, कोही ३ वर्षका । कतिपय बालबालिका अदालतको कार्यवाहीको अर्थ बुझ्ने उमेरमा समेत पुगेका थिएनन् । तर उनीहरू सबैको भविष्य एउटै प्रश्नमा अडिएको थियोः उनीहरूलाई अमेरिकामा बस्न दिइन्छ कि आफ्नै देश फर्काइन्छ ?

हार्लिन्जेनस्थित अदालतमा ६ वर्षको एक बालक विमान उडाएजस्तो अभिनय गरिरहेका थिए भने ३ वर्षका अर्का बालक माइक्रोफोनसँग खेलिरहेका थिए । किशोरी उमेरकी एक बालिका आफ्नी साथीलाई आँखाको इशाराले सम्पर्क गर्ने प्रयास गरिरहेकी थिइन् । अदालतको वातावरण बालबालिकाको उमेर र व्यवहारसँग मेल खाने सामान्य देखिए पनि उनीहरूका मुद्दा भने अत्यन्त गम्भीर थिए ।

न्यायाधीशले एक किशोरीलाई ध्यान दिन आग्रह गर्दै भने, ‘तिमी मुस्कुराइरहेकी छौ र यी कार्यवाहीहरू रमाइलो लागिरहेको जस्तो देखिन्छ । तर तिमीले ध्यान दिनुपर्छ । यी कार्यवाहीले तिमी अमेरिकामै बस्न पाउनेछौ कि देशबाट निकालिनेछौ भन्ने निर्णय गर्न सक्छ ।’

अमेरिकाभरका आप्रवासन अदालतमा अहिले दुई वर्षसम्मका बालबालिका समेत उपस्थित हुन थालेका छन् । उनीहरूमध्ये धेरैसँग कानुनी प्रतिनिधित्व छैन । आफ्नो देश फर्किन नसक्ने कारण प्रमाणित गर्दै अमेरिकामा बस्न पाउने अधिकार खोज्न उनीहरूले आफैँ अदालतको प्रक्रिया सामना गर्नुपरिरहेको छ ।

१३ वर्षीय एन्जेलको पीडा

सोमबार अदालतमा उपस्थित हुने बालबालिकामध्ये १३ वर्षीय होन्डुरसका एन्जेल पनि थिए । उनीसँग कुनै वकिल थिएन । न्यायाधीशले उनलाई होन्डुरस फर्किन नसक्ने कारण सोधे । एन्जेलले जवाफ दिए, ‘मेरी आमा र मेरो लगभग पूरै परिवार यहाँ छन् । त्यहाँ फर्किन निकै खतरनाक छ ।’

तर न्यायाधीशले उनको जवाफलाई शरणका लागि पर्याप्त आधार मानेनन् । उनले एन्जेललाई अमेरिकी कानुनअनुसार शरणको योग्य नभएको बताए । त्यसपछि न्यायाधीशले सोधे, ‘तिमी स्वेच्छिक रूपमा देश छाड्न चाहन्छौ कि म निर्वासनको आदेश जारी गरूँ ?’

एन्जेल केही क्षण अन्योलमा परे । उनले भने, ‘मलाई थाहा छैन ।’ त्यसपछि उनी रुन थाले । केही बेर चुपचाप अगाडि हेर्दै रोइरहेका एन्जेलले अन्ततः भने, ‘मेरो कोही छैन । मेरो केही पनि छैन ।’

न्यायाधीशले उनको अवस्था बुझेको बताए पनि अमेरिकी आप्रवासन कानुन कडा रहेको भन्दै निर्वासनको आदेशविरुद्ध अपिल गर्न महिनाको अन्त्यसम्मको समय दिए ।

एन्जेलको घटना अमेरिकी आप्रवासन अदालतमा बालबालिकाले सामना गरिरहेको कठिनाइको एउटा उदाहरण मात्र हो ।

परिवारबाट अलग, अदालतको प्रक्रियामा

अमेरिकाको दक्षिणी सीमाबाट प्रवेश गर्न खोज्दा पक्राउ परेका वा परिवारसहित अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायको कारबाहीमा परेका सयौँ साथविहीन आप्रवासी बालबालिका अहिले स्वास्थ्य तथा मानव सेवा विभागअन्तर्गतको शरणार्थी पुनस्र्थापना कार्यालय (ओआरआर) द्वारा सञ्चालित आश्रयस्थलमा छन् ।

यी बालबालिकाको हेरचाह गर्नु ओआरआर को जिम्मेवारी हो । तर उनीहरूलाई आश्रय र आधारभूत हेरचाह मात्र पर्याप्त हुँदैन । उनीहरूले आप्रवासन अदालतमा आफ्नो मुद्दा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा यो प्रक्रिया अझ तीव्र र जटिल बनेको अधिकारकर्मी तथा वकिलहरूको भनाइ छ । प्रशासनले यसै गर्मीमा लामो समयदेखि सञ्चालनमा रहेको कानुनी सेवा सम्झौता अन्त्य गरेपछि बालबालिकाले पाउने कानुनी सहयोग घटेको उनीहरूको दाबी छ ।

त्यसो त अमेरिकामा आप्रवासन प्रणाली निरन्तर परिवर्तन भइरहेको देखिएको जनाएको छ । यी परिवर्तनबारे बालबालिका र उनीहरूका प्रतिनिधिलाई पर्याप्त सूचना नदिइँदा अन्योल बढेको र निर्वासनको सामना गरिरहेका बालबालिकामाथि थप मानसिक दबाब परेको अधिकारकर्मीहरूको भनाइ छ ।

कानुनी संरक्षणमाथि प्रश्न

संरक्षणविहीन आप्रवासी बालबालिकालाई विशेष संरक्षण दिने उद्देश्यले अमेरिकामा करिब दुई दशकअघि संघीय कानुन लागू गरिएको थियो । ट्रफिकेटिङ भिक्टिम्स प्रोटेक्सन रिअथोराइजेसन एक्ट २००८ले यस्ता बालबालिका मानव बेचबिखनका पीडित हुन् कि होइनन् तथा आफ्नै देशमा उत्पीडनको विश्वसनीय डर छ कि छैन भन्ने जाँचलगायतका प्रक्रिया सुनिश्चित गर्छ ।

तर आप्रवासी अधिकारकर्मी र वकिलहरूले ट्रम्प प्रशासनमा यी संरक्षण कमजोर बन्दै गएको बताएका छन् । उनीहरूका अनुसार बालबालिकाका शरणसम्बन्धी अन्तर्वार्ता अचानक पुनःतोक्ने, कहिलेकाहीँ २४ घण्टाअघि मात्र सूचना दिने तथा कानुनी सहायता सीमित गर्ने अवस्था देखिएको छ ।

पहिले महिनौँसम्म फैलिने आप्रवासनसम्बन्धी सुनुवाइ अहिले केही दिन वा साताभित्रै हुन थालेका छन् । अदालतका आन्तरिक प्रक्रिया पनि बारम्बार परिवर्तन भइरहेका छन् ।

अर्कोतर्फ, आफन्त वा अभिभावकले बालबालिकालाई आफ्नो जिम्मामा लिन खोज्दा पनि थप जाँचको सामना गर्नुपरेको छ । प्रशासनले यस्तो जाँच बालबालिकाको सुरक्षा तथा विस्तृत प्रमाणीकरणका लागि आवश्यक रहेको बताएको छ ।

अमिका सेन्टर फर इमिग्रेन्ट राइट्सको बाल कार्यक्रमका उपनिर्देशक ड्यानियल गेस्टलका अनुसार पछिल्ला महिनामा बालबालिकाका शरणसम्बन्धी अन्तर्वार्ता र अदालतका सुनुवाइ तीव्र बनाइएका छन् ।

बालबालिकाले आफ्नो शरण दाबी पुष्टि गर्न प्रमाणसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ । तर उनीहरूसँग सम्पूर्ण प्रक्रियामा वकिल हुनैपर्ने कानुनी बाध्यता छैन ।

एक अधिकारकर्मीले भने, ‘चार वर्षका बालबालिकालाई आफू कहाँ छन् र के भइरहेको छ भन्ने थाहा हुँदैन । उनीहरू आफू न्यायाधीशसँग कुरा गरिरहेका छन् भन्ने बुझ्न सक्छन्, तर त्यसको अर्थ कति गम्भीर छ भन्ने बुझ्दैनन् ।’

२० करोड डलरको कानुनी सेवा सम्झौता अन्त्य

अमेरिकी आप्रवासी बालबालिकालाई कानुनी सहयोग उपलब्ध गराउने प्रणालीमा जुलाईमा ठूलो परिवर्तन आयो । ट्रम्प प्रशासनले वर्षौँदेखि चल्दै आएको अकासिया सेन्टर फर जस्टिक सँगको सम्झौता समाप्त हुन दियो ।

वार्षिक करिब २० करोड डलरको उक्त सम्झौतामार्फत अकासियाले अमेरिकाभरका करिब १०० कानुनी सेवा प्रदायकसँग सहकार्य गर्दै २० हजारभन्दा बढी साथविहीन आप्रवासी बालबालिकालाई सहयोग गर्दै आएको थियो ।

सम्झौताअन्तर्गत बालबालिकालाई आफ्ना अधिकारबारे जानकारी, कानुनी जाँच, परामर्श र आवश्यक परे कानुनी प्रतिनिधित्व उपलब्ध हुन्थ्यो । अकासियाकी कार्यकारी निर्देशक साइना एबरका अनुसार सम्झौता लागू हुँदा हिरासतमा रहेका र मुद्दा अघि बढाउने चरणमा पुगेका बालबालिकालाई प्रतिनिधित्व दिन अनिवार्य थियो । उनका अनुसार त्यतिबेला कानुनी प्रतिनिधित्वबिना कुनै हिरासतमा रहेका बालबालिकालाई निर्वासनको आदेश दिइने अवस्था थिएन ।

अगस्टको सुरुवातमा ओआरआरले डिसेम्बर ३१ सम्म कानुनी सेवा उपलब्ध गराउन युएस कमिटि फर रिफ्युजी एण्ड इमिग्रेन्ट्स (युएससिआरआई)लाई २ करोड डलरसम्मको रकम प्रदान गर्‍यो ।

तर त्यसपछि अदालतमा पेश गरिएका केही बयानमा युएससिआरआई का वकिलहरू बालबालिकाको सुनुवाइमा उपस्थित नभएको वा उपस्थित भए पनि पर्याप्त रूपमा नबोलेको दाबी गरिएको छ । त्यसो त स्वास्थ्य तथा मानव सेवा विभागले भने बालबालिकालाई कानुनी प्रतिनिधित्व सुनिश्चित गर्न प्रशासन प्रतिबद्ध रहेको बताएको छ ।

बालबालिकामाथि बढ्दो दबाब

कानुनी सहायता नपाउँदा बालबालिकाको शरण दाबीमा प्रत्यक्ष असर पर्न सक्ने वकिलहरूको भनाइ छ । शरणका लागि अमेरिकी शरण अधिकारीसँग अन्तर्वार्ता लिनुपर्छ । यस्तो अन्तर्वार्ता घण्टौँसम्म चल्न सक्छ र बालबालिकाले भोगेका सम्भावित आघातपूर्ण घटनाबारे प्रश्न गरिन्छ ।

वकिल नभएको अवस्थामा बालबालिकाले यस्ता प्रश्नको सामना एक्लै गर्नुपर्छ । प्रोबार की कानुनी निर्देशक लरेन फिसर फ्लोरेसले गत महिना ३ वर्षको एक बालकको अन्तर्वार्ताको उदाहरण दिइन् । ती बालक कुर्सीमा बस्नसमेत नसक्ने अवस्थामा थिए । उनी भुइँमा बसेर फर्निचरमा ब्यान्डेज टाँस्दै र खेलौना डायनासोरसँग खेल्दै थिए, जबकि शरण अधिकारीले उनलाई प्रश्न गरिरहेका थिए ।

सेप्टेम्बरमा ओआरआरले आश्रयस्थलहरूलाई पठाएको ज्ञापनपत्रअनुसार युएससिआईएसले शरण दाबी गर्ने बालबालिकासँग भर्चुअल अन्तर्वार्ता लिन सक्ने बताइएको थियो । सम्बन्धित वकिल वा कानुनी सेवा प्रदायकलाई जानकारी दिनुपर्ने पनि उल्लेख थियो ।

थुनिने बालबालिका

अगस्टमा अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको हिरासतमा औसत १ हजार ८८३ जना आप्रवासी बालबालिका थिए । यो संख्या अघिल्ला वर्षहरूको तुलनामा कम रहेको संघीय तथ्यांकले देखाउँछ । तर अदालतमा पुगेपछि उनीहरूले सामना गर्ने प्रक्रिया सहज छैन । आप्रवासी अनाथहरुलाई कानुनी सहायता दिने संथा प्रोबारले दिएको उदाहरणअनुसार अगस्टमा ७ वर्षका एक बालक वकिलबिना आप्रवासन न्यायाधीशसमक्ष उपस्थित भएका थिए । उनलाई स्वेच्छिक रूपमा अमेरिका छाड्न आदेश दिइयो र ३० दिनको समय दिइयो ।

बालबालिकालाई सहयोग गर्न प्रोबारले पहिलोपटक ‘डोरी’ नामको हटलाइनसमेत सञ्चालन गरेको छ । अगस्टको सुरुदेखि उक्त हटलाइनमा २०० भन्दा बढी फोन आइसकेका छन् ।

प्रोबारकी वकिल क्याथरिन बेकका अनुसार केही बालबालिका आफ्ना भावना व्यक्त गर्छन् भने केही पूर्ण रूपमा चुप लागेर बस्छन् । अर्कोतर्फ, धेरै बालबालिकाले स्वेच्छिक रूपमा अमेरिका छाडेर आफ्नै देश फर्किने विकल्प रोजिरहेका छन् । अमेरिकी गृह सुरक्षा विभागले यस्तो अवस्थामा फर्किने बालबालिकालाई ३ हजार डलरको आर्थिक सहायता दिने प्रस्ताव गरेको छ ।

टेक्सासको अदालतमा देखिएको दृश्यले अमेरिकाको आप्रवासन नीतिको एउटा संवेदनशील पक्ष उजागर गरेको छ । आफ्नो भविष्यबारे निर्णयका लागि अदालत पुगेका धेरै बालबालिका अझै यति साना छन् कि उनीहरूलाई अदालतको प्रक्रिया र त्यसको परिणामको अर्थसमेत पूर्ण रूपमा थाहा हुँदैन । उनीहरूका लागि कानुनी बहस, शरणको दाबी र निर्वासनका आदेश केवल कानुनी शब्द होइनन्; ती उनीहरू कहाँ बस्ने, कसको साथमा रहने र आफ्नो भविष्य कहाँ बनाउने भन्ने प्रश्नसँग जोडिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय