काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णत: असफल भएको आरोप लगाएका छन् ।
मंगलबार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाएका हुन् ।
सरकार बनेको ६ महिना पूरा भएको सन्दर्भमा प्रतिक्रिया दिँदै महरले शुरुमा जनतामा रहेको उत्साह र आशा अहिले निरासामा परिणत भएको बताए ।
‘सरकारले चुनावअघि गरेका वाचा र पछि ल्याएको १०० दिने कार्यसूची दुवै एकादेशको कथा बनेका छन् । विदेशमा रहेका युवालाई फर्काउने, नि:शुल्क शिक्षा र स्वास्थ्य दिने नारा दिएको सरकार अहिले आफ्ना विरोधीहरूलाई प्रतिशोध साधेर थुन्ने काममा सक्रिय छ । यो सरकारको कार्यशैली पञ्चायती शैलीको पुनरावृत्ति जस्तो देखिन थालेको छ,’ उनले भने ।
युवा र नयाँ अनुहारको सरकारबाट देशले आर्थिक तथा सामाजिक रूपान्तरणको फड्को मार्ने अपेक्षा गरिए पनि सरकार ‘स्टन्ट’ र सस्तो लोकप्रियतामै केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।
‘विपद्को समयमा समेत समन्वयकारी भूमिका खेल्नुको साटो प्रधानमन्त्री र मन्त्रीहरू दम्भ र अहङ्कार प्रदर्शन गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । पुनर्स्थापनाको काममा राज्य संयन्त्र पूर्णत: अस्तव्यस्त बनेको छ । सरकार टाउकोले टेकेर उल्टो दिशामा हिँडिरहेको छ, त्यसैले यसलाई कुनै नम्बर दिन सकिँदैन,’ उनले भने ।
सरकारले लोकतान्त्रिक संस्थाहरू, विद्यार्थी सङ्गठन र कर्मचारी संयन्त्रमाथि प्रहार गरिरहेको आरोप लगाए ।








