काठमाडौं । गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भुटानले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । गण्डकीका लागि ओपनर इश्वर क्षेत्रीले सर्वाधिक अविजित ३४ रन बनाए । उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
दीपक कुमार डुम्रे १९ बलमा २६ रन बनाएर अविजित रहे । ओपनर अर्जुन कुमाल २२ र सिब्रिन श्रेष्ठ १० रनमा आउट भए । बलिङमा भुटानका सोनाम येशे र नामगे थिन्लेले एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भुटान १९ ओभर ३ बलमा ९६ रन जोड्दै अलआउट भएको थियो ।
भुटानका लागि सोनाम चोपेल र रञ्जुङ मिक्यो दोर्जीले समान २७ रन बनाएका थिए । नामगे थिन्ले १६, नामगाङ चोजे २, थिन्ले जम्त्सो ७, ताशी दोर्जी २ र सोनाम येशे २ रनमा भए । ताशी फुन्छो ९ रनमा अविजित रहे । तेन्जिन राब्गे, गाकुल कुमार घाले र ताशी चोपेलले कुनै पनि रन बनाउन सकेनन् ।
बलिङमा गण्डकीका सुवास भण्डारीले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा उनले १५ रन खर्चेर ४ विकेट लिएका हुन् । अपराजित पौडेलले ३, कप्तान विपिन खत्री, सुदीप अर्याल र सिव्रिन श्रेष्ठले एकएक विकेट लिए ।
पोखरा भ्रमणमा रहेको भुटानले भोलि बुधबार गण्डकी प्रदेशसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि भुटानले क्यान–११ सँग दुई अभ्यास खेल्ने तालिका छ ।








