काठमाडौँ । हिउँदमै पहिरोको जोखिम क्षेत्र पहिचान भए पनि सरकारले समयमै रोकथाममा ध्यान नदिँदा चाडपर्वको मुखमा आमनागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा प्राविधिक अध्ययनमार्फत ४३ स्थानलाई पहिरोको सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो ।
जोखिमको पूर्वआकलन भइसक्दा पनि रोकथाम तथा नियन्त्रणका लागि औपचारिक ठेक्कामार्फत काम भने जम्मा दुई स्थान (तुइन खोला र नाम्सी खोला) मा मात्रै अघि बढाइएको पाइएको छ ।सडक डिभिजन भरतपुरको प्राविधिक टोलीले हिउँदमै स्थलगत अध्ययन गरेर सडकका ४३ स्थानमा पहिरो, लेदो तथा गेग्रान (डेब्रिज) खस्ने जोखिम रहेको प्रतिवेदन तयार पारेको थियो । पूर्वतयारी तथा दीर्घकालीन रोकथामका लागि उक्त सूची बनाइए पनि पर्याप्त बजेट र सरकारको प्राथमिकीकरणको अभावमा अधिकांश स्थानमा संरचनात्मक रोकथामका काम अघि बढ्न सकेनन् ।ठेक्का दुई ठाउँमा मात्र, एउटा रद्द
सडक डिभिजन भरतपुरका अनुसार पहिचान गरिएका जोखिमयुक्त स्थानमध्ये तुइन खोला र नाम्सी खोलाको एउटा खण्डमा मात्रै पहिरो रोकथामका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको छ ।
डिभिजन प्रमुख नारायण प्रसाद लामिछानेले भने, ‘हाम्रो अहिले ठेक्का लागेको भनेको तुइन खोला र नाम्सीको एउटा खण्ड हो । नाम्सीकै अर्को भाग र काली खोलाको प्याकेजमा भने योग्य बिडर नआएका कारण ठेक्का रद्द भयो । अहिले त्यहाँ पहिरो थपिएको छ । अब त्यसलाई समेत समेटेर फेरि रि–डिजाइन गरी नयाँ ठेक्का गर्नुपर्ने अवस्था छ । स्रोत सहमति आइसकेपछि थप जोखिमयुक्त ठाउँहरू पनि क्रमशः ठेक्का लगाउँदै जान्छौँ ।’
तर, नाम्सी खोलाकै अर्को खण्ड र कालीखोला क्षेत्रलाई समेटेर आह्वान गरिएको अर्को महत्त्वपूर्ण ठेक्का भने योग्य बोलपत्रदाता (बिडर) नपरेपछि रद्द भएको थियो । मनसुन सुरु भएसँगै नाम्सीमा थप पहिरो खसेर अवस्था झन् जटिल बनेको छ । डिभिजनले अब थपिएको पहिरोसमेत समेटेर पुनः डिजाइन (रि–डिजाइन) गरी नयाँ ठेक्का प्रक्रिया थाल्ने तयारी गरेको जनाएको छ ।
साथै यस खण्डमा पर्ने २६ किलो क्षेत्रमा पनि पहिरो गएपछि सडक डिभिजन भरतपुरले नियन्त्रणको काम गरिरहेको छ ।
सिमलतालमा ठुलो क्षति, चाडपर्वमा सास्तीको डर
जोखिम न्यूनीकरणमा भएको ढिलाइको असर मनसुनमा प्रत्यक्ष देखिएको छ । गत बिहीबारदेखि आइतबारसम्म निरन्तर परेको वर्षाका कारण सिमलताल क्षेत्रमा करिब ८० मिटर सडक भासिएर सडक एकतर्फी (वान–वे) बनेको छ । सिमलतालमा भासिएको सडकलाई दसैँअगावै ग्याबिन पर्खाल उठाएर वा भित्ता काटेर दुईतर्फी चलाउने तयारी गरिएको डिभिजन प्रमुख लामिछानेले बताए ।
त्यसैगरी ३१ किलोमिटर चेनेजमा सडकको तल्लो भागबाट करिब ५० मिटर कटान भएको छ भने अन्य करिब १० ठाउँमा निरन्तर लेदो बग्ने समस्या देखिएको छ ।
दसैँ नजिकिँदै गर्दा सिमलतालमा ग्याबिन पर्खाल उठाउने, फिलिङ गर्ने वा भित्ता कटिङ गरेर दुईतर्फी यातायात सञ्चालन गर्ने योजना डिभिजनले बनाएको छ । विभागका विज्ञ टोलीको सुझावका आधारमा त्यहाँ तत्काल मर्मत थालिने बताइएको छ ।
जोखिमयुक्त क्षेत्रहरूको दीर्घकालीन समाधान नखोजिएसम्म नारायणगढ–मुग्लिन सडकको यात्रा सधैँ अनिश्चित र जोखिमपूर्ण रहने देखिन्छ ।
सबै ठाउँ भयावह नरहेको डिभिजनको दाबी
४३ स्थानमध्ये अधिकांश ठाउँमा काम सुरु हुन नसकेको विषयमा डिभिजन प्रमुख लामिछानेले पहिचान गरिएका सबै स्थान ठुला संरचना बनाउनुपर्ने खालका नरहेको स्पष्ट पारे ।
उनले भने, ‘४३ वटा ठाउँ भन्दैमा सर्वसाधारणमा एकदमै भयावह रहेछ भन्ने पर्न सक्छ, तर त्यस्तो होइन । हामीले स–साना खोल्सा र डेब्रिज आउने ठाउँसमेत जोडेर पूर्वतयारीका लागि बृहत लिस्ट निकालेका हौँ । हामीले तुरुन्तै ठुलो संरचना बनाएर रोकथाम गर्नुपर्ने ठाउँहरू ४ देखि ५ वटामात्रै हुन्, जसमा तुइन खोला, नाम्सी खोला, सिमलताल र २६ किलो पर्छन् । बाँकी सानातिना ठाउँहरूमा डिभिजनको नियमित बजेट र आफ्नै लेन्थवर्कर प्रयोग गरेर बायो–इन्जिनियरिङ र बाँसका चेक ड्याममार्फत सामान्य रोकथामका काम गरिरहेका छौँ ।’
उनका अनुसार सरकारबाट स्रोत सहमति प्राप्त भएपछि बाँकी जोखिमयुक्त स्थानहरूमा पनि क्रमशः बजेट विनियोजन गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ । यद्यपि, पूर्वअध्ययन भएर पनि समयमै दिगो रोकथामका उपाय नअपनाइँदा चाडपर्वको मुखमा यात्रुहरूले जोखिमपूर्ण र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।








