काठमाडौं : पोचुर्गिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। उनले क्याम्प छाड्नुको कारणबारे ‘उचित समयमा’ जानकारी दिने भन्दै राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका हुन्।
मुख्य प्रशिक्षक जर्ज जेसुसले कप्तान रोनाल्डोसँग कुनै विवाद नरहेको बताएपछि रोनाल्डोले क्याम्प छाडेका हुन्। पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको दाबी सार्वजनिक भएको थियो।
रोनाल्डोले यसै वर्षको गर्मीमा भएको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे विचार गरेको बताएका थिए। तर, करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण उनले राष्ट्रिय टोलीबाट खेल्न निरन्तरता दिने निर्णय गरेका थिए।
जेसुसले हालको अन्तर्राष्ट्रिय ब्रेकका लागि घोषणा गरेको २५ सदस्यीय टोलीमा रोनाल्डो पनि समावेश थिए। उनले नेसन्स लिगअन्तर्गत वेल्सविरुद्धको सुरुवाती खेलमा पनि खेलेका थिए। तर, आइतबार ओस्लोमा नर्वेलाई २–१ ले हराउँदा अल नासरका फरवार्ड रोनाल्डोले खेल्ने अवसर पाएनन्। खेल सकिएपछि उनी टोलीका अन्य खेलाडीसँगै समर्थकलाई अभिवादन गर्न पनि गएनन्। पूर्व रियल म्याड्रिड तथा म्यानचेस्टर युनाइटेड खेलाडी रोनाल्डो सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए। त्यसपछि उनी प्रशिक्षक जेसुससँग असन्तुष्ट रहेको समाचार सार्वजनिक भएका थिए।
बिहीबार डेनमार्कविरुद्धको नेसन्स लिग खेलअघि सञ्चारमाध्यमसँग कुरा गर्दै जेसुसले भने, ‘कुनै घटना नै भएको थिएन।’ उनले थपे, ‘कुनै पनि खेलाडी—र म आफैं पनि खेलाडी थिएँ । २०/ ३० मिनेट वार्मअप गरेर पनि मैदान प्रवेश गर्न नपाउँदा खुसी हुँदैन।’ जेसुसका अनुसार उनले खेलअघि नै रोनाल्डोलाई सुरुआती टोलीमा नराखिएको र खेलको पछि मैदान प्रवेश गराउन सकिने जानकारी दिएका थिए। ‘पछि प्रशिक्षकका रूपमा मैले उनलाई मैदानमा नपठाउने निर्णय गरेँ। यसलाई ठूलो विषय बनाउनुपर्ने केही छैन।’ उनले भने।
पूर्व बेन्फिका प्रशिक्षकसमेत रहेका जेसुसले मंगलबार रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको दाबीलाई पनि खण्डन गरे। उनका अनुसार ४१ वर्षीय रोनाल्डोले ‘मोबिलिटी’ र ‘स्ट्रेन्थेनिङ’का लागि व्यक्तिगत अभ्यास गर्नुपर्ने भएकाले टोलीसँग प्रशिक्षण नगरेका हुन्। उनले बुधबार भने सामान्य रूपमा प्रशिक्षण गर्ने जेसुसले बताएका थिए। तर, रोनाल्डो डेनमार्कमा टोलीका अन्य खेलाडीसँग मैदानमा देखिएनन्। पोर्चुगिज सञ्चारमाध्यमले उनलाई पार्केन रंगशालाबाट टोलीका दुई सदस्यसँगै बाहिरिँदै गरेको भिडियो सार्वजनिक गरेका थिए।
त्यसपछि भने रोनाल्डोले इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको क्याम्प छाडेको घोषणा गरे। उनले लेखेका छन्, ‘राष्ट्रिय टोलीको पत्रकार सम्मेलनपछि र पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको छु।’
उनले थपे, ‘उचित समयमा, मलाई क्याम्प छाड्न प्रेरित गर्ने कारणबारे सबै पोर्चुगिजलाई सत्य बताउनेछु।’
रोनाल्डोले आगामी खेलका लागि आफ्ना टोलीका साथीहरूलाई शुभकामना पनि दिएका छन्। नर्वेविरुद्धको खेलमा गोन्कालो रामोसले निर्णायक गोल गरेका थिए। जेसुसले डेनमार्कविरुद्ध पनि रोनाल्डोको स्थानमा एसी मिलानका फरवार्ड रामोसलाई प्राथमिकता दिने बताएका थिए। पोर्चुगिज फुटबल संघले पनि रोनाल्डोले क्याम्प छाडेको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ। संघले भनेको छ, ‘डेनमार्क र नर्वेविरुद्धका दुई खेलका लागि बाँकी २४ खेलाडीसहितको तयारी पूर्वनिर्धारित योजनाअनुसार जारी रहनेछ।’
संघले लेखेको स्पष्टिकरणमा ‘सम्पूर्ण टोलीको ध्यान राष्ट्रिय टोलीका आगामी खेल र निर्धारित लक्ष्य हासिल गर्नमा केन्द्रित रहनेछ।’ संघले जनाएको छ।








