रुपन्देहीको भैरहवामा एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेल रहेको प्रहरीले जनाएको छ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डन्डा, रुपन्देहीका डीएसपी गोपीकृष्ण भट्टराईको टोली र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टबाट उनलाई नियन्त्रणमा लिएको हो। भारतबाट आउँदै गरेकी पटेललाई शंका लागेर जाँच गर्दा सुनका गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।सशस्त्र प्रहरीका डीएसपी भट्टराईका अनुसार पटेलको साथबाट २ किलो ६०५ ग्राम विभिन्न किसिमका सुनजस्ता देखिने पहेंलो धातुका गरगहना बरामद गरिएका छन् । बरामद गरगहना परीक्षण गर्दा दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको एक किलो शुद्ध सुन भएको पुष्टि भएको उनले बताए।पक्राउ परेकी महिला र बरामद सुन आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।








