काठमाडौं । नेपाली फुटबलका लागि दक्षिण एसियाकै ठूलो मञ्च मानिने साफ च्याम्पियनसिप यसपटक नेपालबिना हुने भएको छ। फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको हो।

नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुने १५औँ साफ च्याम्पियनसिपमा ६ देशले सहभागिता जनाउँदैछन्। समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान छन्।

सन् १९९३ देखि सुरु भएको साफ यात्रामा नेपाल नियमित सहभागी हुँदै आएको थियो। तर यसपटक निलम्बनका कारण नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको छ।

साफमा नेपालको उत्कृष्ट प्रदर्शन सन् २०२१ मा भएको थियो। माल्दिभ्समा भएको प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगे पनि भारतसँग ३–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

पूर्वराष्ट्रिय खेलाडी नवीन न्यौपानेले साफ गुम्नु नेपाली फुटबलका लागि प्रतियोगिता गुम्नु मात्र नभई नयाँ पुस्ताले अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसरसमेत घट्नु भएको बताएका छन्।

उनका अनुसार दक्षिण एसियाका अन्य देशको फुटबल अघि बढिरहेका बेला नेपालमा देखिएको आन्तरिक विवाद, व्यवस्थापनसम्बन्धी समस्या र अन्तर्राष्ट्रिय गतिविधिमा आएको अवरोधले नेपाली फुटबलको भविष्यमा चुनौती थपिएको छ।

अब मुख्य प्रश्न साफमा नेपाल कहिले फर्किन्छ भन्ने मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चबाट टाढिँदै गएको नेपाली फुटबलमा नयाँ पुस्ताको निरन्तरता कसरी जोगाउने भन्ने बनेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय