भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो समयदेखि जारी मुद्दामा एक निजी कम्पनीको बक्यौता रकम तिर्ने प्रतिबद्धता पूरा नगरेपछि अभिनेता राजपाल यादवलाई चेतावनी दिएको छ ।

प्रधानन्यायाधीश सूर्यकान्त, न्यायाधीश जोयमाल्या बागची र न्यायाधीश वी. मोहनाको इजलासले गत सेप्टेम्बर १५ मा यादवलाई दुई हप्ताको अन्तिम समय दिँदै रकम भुक्तानीको ठोस प्रस्ताव ल्याउन र अदालतको रजिस्ट्रीमा २ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो । सोमबार भएको सुनुवाइमा दुई हप्ताको अवधि सकिँदा पनि अक्टोबर ५ सम्म कुनै भुक्तानी नभएको भन्दै अदालतले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।सुनुवाइका क्रममा यादवका तर्फबाट उपस्थित वकिलले विपक्षी कम्पनी गरिब नभएको तर्क प्रस्तुत गरेका थिए । उक्त तर्कप्रति न्यायाधीश बागचीले आपत्ति जनाउँदै भने, ‘उनीहरू तपाईंभन्दा धनी हुन सक्छन्, तर तपाईंले उनीहरूको रकम हडप्नुभएको छ । यो अहङ्कार सही ठाउँमा देखाउनुपर्छ । कहिले मुख खोल्ने भन्ने ज्ञान हुनुपर्छ, तपाईंको ठाउँ जेलमा हो ।’इजलासले मंगलबारसम्म बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिँदै बुधबारका लागि यो मुद्दालाई पहिलो सूचीमा राखेर सुनुवाइ तोकेको छ । अदालतले यादवको पुनरावेदन खारेज गर्न सकिने भए पनि त्यसो गर्दा पीडित पक्षले रकम असुल गर्ने सम्भावना प्रभावित हुने भएकाले रोकिएको स्पष्ट पारेको छ ।

सुनुवाइमा यादवका वकिलले ५० लाख रुपैयाँको डिमान्ड ड्राफ्टको प्रतिलिपि प्रस्तुत गर्दै बैंकमा ड्राफ्ट बनाउने प्रक्रिया जारी रहेको बताएका थिए । तर उक्त ड्राफ्ट सक्कली भए-नभएकोबारे यकिन नभएको अदालतले जनाएको छ ।

विपक्षी मेसर्स मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडका तर्फबाट वरिष्ठ अधिवक्ता अजित सिन्हाले यादवले पटक-पटक अदालतको आदेश उल्लङ्घन गरेको आरोप लगाए । उनले भने, ‘उहाँ फिल्म अभिनेता हुनुहुन्छ र यहाँ पनि अभिनय नै गरिरहनुभएको छ । उहाँलाई अदालतको गरिमाप्रति कुनै सम्मान छैन ।’

कम्पनीका अनुसार सन् २०१० मा एक फिल्म निर्माणका लागि यादवलाई ५ करोड रुपैयाँ वित्तीय सहायता दिइएको थियो । सोही रकम फर्छ्यौट गर्न सन् २०१३ मा यादवले १.०५ करोड रुपैयाँका सातवटा चेक दिएका थिए, जुन बाउन्स भए । सन् २०१२ मा दुवै पक्षबीच भएको सम्झौतामा यादव, उनकी पत्नी र कम्पनीले ब्याजसहित करिब ११ करोड रुपैयाँ तिर्ने सहमति जनाएका थिए ।

सर्वोच्च अदालतले गत सेप्टेम्बर १५ मा यादवलाई आत्मसमर्पण गर्नबाट दिएको छुटको अवधि अक्टोबर ५ सम्मका लागि बढाएको थियो । त्यसबेला पनि अदालतले यादव नाटक गर्न माहिर रहेको र उनको आचरणले विश्वास गर्ने ठाउँ नरहेको टिप्पणी गर्दै अन्तिम मौका दिएको थियो । यादव साढे चार महिना जेल बसिसकेका छन् र मनोरञ्जन क्षेत्रका साथीहरूले उनलाई धरौटीमा छुटाएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय