विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागीय टोलीका १७० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा हुने प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीले जानकारी दिए ।प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । एकल स्पाइरिङमा पुरुषतर्फ ४५–५० किलोदेखि ८६ किलोभन्दा माथि र महिलातर्फ ४०–४५ किलोदेखि ७६ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा गराइने कार्कीले बताए ।ग्रुप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फका खेलाडी सहभागी हुनेछन् । प्याटनतर्फ हरियो, नीलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ग्रुप प्याटन र सेल्फ डिफेन्समा पनि पुरुष तथा महिला खेलाडीको सहभागिता रहनेछ ।

तियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीका लागि छनोट गरी बन्द प्रशिक्षणमा राखिने आयोजकले जनाएको छ । छनोट भएका खेलाडीले आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंमा हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

प्रतियोगितामा महासंघका तीन प्रतिनिधि, ३५ अम्पायर, ३० प्रशिक्षक तथा व्यवस्थापक र पाँच स्थानीय अम्पायरसहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकको भनाइ छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठले प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको बताए ।

प्रतियोगिताको उद्घाटन असोज २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ । समापन असोज २६ गते सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्ने आयोजकले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय