नेपाली कांग्रेस (देउवा समूह) ले सञ्चालन गरिरहेको आन्तरिक अधिवेशन अन्तर्गत देशभरका ४ हजार १ सयभन्दा बढी वडाहरूमा अधिवेशन सम्पन्न भएको जनाएको छ। यस्तै, पूर्वघोषित कार्यतालिका अनुसार पालिकास्तरको अधिवेशन सुरु भए पनि भौगोलिक विकटताका कारण कतिपय स्थानमा कार्यतालिका केही हेरफेर गरिएको छ।

देउवा समूहद्वारा गठित निर्वाचन समितिका संयोजक एगराज पोखरेलका अनुसार पछिल्ला केही दिनमा वडा तहको अधिवेशनले तीव्र गति लिएको छ। यसअघि असोज १५ गते साँझ सार्वजनिक गरिएको तथ्याङ्कमा ३ हजार १९१ वडाको विवरण समावेश गरिएकोमा अहिले त्यो संख्या उल्लेख्य रूपमा बढेको हो।‘हामीले अस्ति १५ गते साँझ प्रदेशगत रूपमा ३ हजार १९१ वडाको अधिवेशन सकिएको विवरण रिलिज गरेका थियौँ। अहिले त्यसमा करिब १ हजार जति वडा थपिएका छन् । हालसम्म देशभर ४ हजार १०० भन्दा बढी वडाको अधिवेशन सम्पन्न भइसकेको अवस्था छ,’ उनले भने।प्रदेशगत रूपमा हेर्दा पछिल्लो समय सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा वडा अधिवेशनको संख्या उल्लेख्य रूपमा थपिएको उनले बताए । बागमती र कोशी प्रदेशमा पनि अधिवेशनको क्रम निरन्तर जारी रहेको उनले जानकारी दिए।

निर्वाचन कार्यतालिका अनुसार असोज २० गतेसम्म पालिका तहको अधिवेशन सक्ने लक्ष्य राखिए पनि भौगोलिक विकटता र चाडपर्वको समयका कारण केही स्थानमा समय थप गरिएको उनले बताए।

‘हाम्रो कार्यतालिका अनुसार २० गते नै पालिकाको गर्ने भन्ने कुरा थियो । सक्ने स्थानीय तहहरूले २० गते नै पालिका अधिवेशन सम्पन्न गरेका छन् र कतिपय ठाउँमा भइरहेको छ। तर भौगोलिक जटिलता र समय अभावका कारण कतिपय ठाउँलाई २३ गतेसम्म पालिका अधिवेशन सम्पन्न गर्न अनुमति दिएका छौँ । त्यसैगरी, बाँकी तहको अधिवेशन भने दसैँ पछाडि गर्ने गरी मिलाइएको छ,’ उनले भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय