काठमाडौं : नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले देशको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।
उनले बहुमतको नाममा अल्गोरिदमबाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको बताए।
‘आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन्,’ उनले भने, ‘अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ। देश यहीँबाट बन्ने छ।’
आङ्देम्बेले कांग्रेसको १५औँ महाधिवेशनलाई अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताए। यसपटकको बन्द सत्रमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले महाधिवेशन आफूलाई नौलो लागेको उनको भनाइ थियो।
‘मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’
उनले महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको दाबी गरे।
आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको पनि बताए। विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवादेखि सबै उमेर समूहका मानिस पार्टीमा जोडिएको उनको भनाइ थियो। उनले महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले कांग्रेसलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए।








