काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नेता किशोरसिंह राठौरले पार्टी सभापतिको उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टीभित्रको असहज परिस्थिति र बृहत्तर हितलाई मध्यनजर गर्दै सभापतिको दौडबाट पछि हटेर सभापति गगनकुमार थापालाई समर्थन गर्ने निर्णय लिएको बताएका हुन् ।
उम्मेदवारी फिर्ता लिनुको पछाडि कुनै ‘बार्गेनिङ’ नभएको दाबी गर्दै राठौरले कुनै पनि पदको प्रलोभनमा नपरी पार्टीको हित र कार्यकर्ताको भावनालाई कदर गर्दै निर्णय लिएको बताए।
आफ्नो ४० वर्ष लामो राजनीतिक अनुभव सुनाउँदै उनले कांग्रेसभित्र मौलाएको अराजकता र अनुशासनहीनताप्रति चिन्ता व्यक्त गरे ।
उम्मेदवारी फिर्ता लिनुको कारण स्पष्ट पार्दै राठौरले भने, ‘पार्टी अहिले असाध्यै अप्ठ्यारो मोडमा छ । पार्टीलाई एक ढिक्का बनाउन र बलियो बनाउन हामीले मिलेर जानुपर्ने आवश्यकता देखेर मैले यो निर्णय लिएको हुँ । मैले कुनै पदको बार्गेनिङका लागि होइन, बरु पार्टीको आन्तरिक कलह अन्त्य र न्यायपूर्ण प्रणाली स्थापना गर्नुपर्ने देखेर गगनजीलाई सहयोग गर्ने निर्णय गरेको हुँ ।’
उनले पार्टीभित्र न्यायको अनुभूति हुनुपर्नेमा जोड दिए । नयाँ पुस्ताको राजनीतिमा आगमनलाई सकारात्मक रूपमा लिँदै राठौरले युवा पुस्तालाई कांग्रेसको गौरवमय इतिहास, संस्कार र मर्यादित राजनीतिक शैलीबारे बुझाउन आवश्यक रहेको बताए ।
‘टिकट वितरणमा हुने असन्तुष्टि र त्यसपछिको अन्तर्घातको श्रृङ्खला रोक्न नसक्दा पार्टी कमजोर भएको छ । आगामी दिनमा कार्यकर्ताले न्याय पाउने र अनुशासन कायम राख्ने वातावरण बनाउनुपर्ने चुनौती छ,’ उनले भने ।








