काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूसँग जोडिएको आर्थिक अनियमितताको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौती दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले आफूसँग जोडिएका गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण भए निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न चुनौती दिएका हुन् ।

आफू छानबिनबाट नभाग्ने र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको उनले बताए । अनुसन्धानका नाममा व्यक्तिलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरी बोलाउने वा दबाब दिने काम भएको भए त्यसको समेत छानबिन हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मेरो चुनौती सीआईबीलाई पनि छ । यदि मसँग जोडिएका विषयमा कुनै गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस् । म छानबिनबाट भाग्ने होइन, कानुनी प्रक्रियाको सामना गर्न तयार छु ।’

प्रहरी अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै सुनारले प्रमाण भए कारबाही गर्न र प्रमाण नभए आरोप तथा दबाबको राजनीति बन्द गर्न चेतावनी दिए ।

‘प्रमाण छ भने कारबाही गरियोस्, प्रमाण छैन भने आरोप र दबाबको राजनीति बन्द गरियोस्,’ उनले भने ।

प्रहरी संगठनभित्रबाटै गैरकानुनी काम भएको प्रमाण भेटिए त्यसमा समेत निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने उनको भनाइ छ ।

राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको सुनारले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय