काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाली कांग्रेसले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकासमा परिणाम (डेलिभरी) दिनुपर्ने बताएका छन्। कांग्रेसले अब विगतका कामको चर्चा गरेर मात्रै नपुग्ने उनको भनाइ छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको खुला सदस्य पदमा उम्मेदवारी दिएका महर्जनले दुई कार्यकाल ललितपुर महानगरपालिकाको प्रमुखका रूपमा काम गरेको अनुभव पार्टीको नीति निर्माण र कार्यसम्पादनमा उपयोग गर्न उम्मेदवारी दिएको स्पष्ट पारे। अहिलेका युवा पुस्ता तथा आम नागरिकले भाषण र आश्वासनभन्दा कामको परिणाम खोजिरहेकाले कांग्रेस नेतृत्वले त्यसै अनुसार कार्यसम्पादन गर्नुपर्ने उनले बताए। विगतका कामको विवरण प्रस्तुत गरेर मात्र अबको राजनीतिक चुनौती सामना गर्न नसकिने भएकाले आगामी दिनमा देश विकासका लागि स्पष्ट योजना, नीति र दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको जोड छ।महाधिवेशनले मुलुकको विकासका लागि प्रभावकारी योजना र नीति निर्माण गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने महर्जनले बताए। गगन थापा सभापतिमा आउने अपेक्षाले युवाहरूमा नयाँ उत्साह देखिएको र पार्टीको संशोधित विधानले पनि युवाहरूलाई समेट्ने गरी व्यवस्था गरेको उनले उल्लेख गरे। पार्टीभित्र दुई खेमाको अवस्था देखिएकाले त्यसलाई एकीकृत गर्दै सङ्गठित र एकताबद्ध बनाउनु आफ्नो प्राथमिकता रहेको उनले बताए।
‘जनतालाई डेलिभरी चाहिएको छ, कुरा र गफ होइन काम चाहिएको छ,’ महर्जनले भने, ‘दुई पटक मेयर भएर काम गरेको अनुभवलाई अब कांग्रेसको केन्द्रीय कार्यसमितिमा उपयोग गर्न चाहन्छु। मैले यो गरेँ, त्यो गरेँ भनेर अब काम बन्दैन, अब डेलिभरी दिन सक्नुपर्छ। गगन थापाजी सभापतिमा आउँदै हुनुहुन्छ भन्ने कुराले युवाहरू तरङ्गित भएका छन्, पार्टीको संशोधित विधानले पनि युवाहरूलाई प्रचुर मात्रामा सम्बोधन गरेको छ र युवाहरूलाई पार्टीमा ल्याउन क्लस्टरसमेत बनाएको छ।’
महाधिवेशनबाट चर्चित अनुहारभन्दा काम गरेर देखाएका र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा उनले जोड दिए। चर्चित अनुहारले मात्रै डेलिभरी दिन नसक्ने भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई परीक्षण भइसकेका र नयाँ सम्भावना बोकेका दुवै खालका सक्षम व्यक्तिको मूल्याङ्कन गरेर छनोट गर्न आग्रह गरे। योग्य र काम गर्न सक्ने नेतृत्व चयनबाट नै कांग्रेसको भविष्य निर्धारण हुने उनको भनाइ छ।








