हुम्ला–मुगुको सीमावर्ती मिमी पाटन क्षेत्रमा जडीबुटी खोज्न गएका मुगुका दुई जना मृत भेटिएका छन् । मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्गबहादुर रोकाया र ललितजङ्ग बडुवाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक(डीएसपी) रविराज थपलियाका अनुसार रोकायाको शव असोज १७ गते मिमी पाटन क्षेत्रमा हिउँले पुरिएको अवस्थामा फेला परेको थियो । बुधबार बडुवालको शव पनि सानो मिमी क्षेत्रमै फेला परेको उनले बताए ।दुवै जनाको शव फेला परेसँगै जडीबुटी खोज्न गएर सम्पर्कविहीन भएका दुई जनाको खोजी टुंगिएको प्रहरीले जनाएको छ ।
जडीबुटी संकलनका क्रममा असोज ११ गते दुई पक्षबीच झडप भएको थियो । झडपमा मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
टोलीका अन्य १० जना सम्पर्कमा आएपनि अङ्गबहादुर र ललितजङ्ग सम्पर्कविहीन भएका थिए ।
उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो । जसमा सेनाका सात, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका छ गरी २० जनाको टोली असोज १९ गते घटनास्थलतर्फ गएको थियो ।
संयुक्त टोलीले अत्यधिक उचाइ, बाक्लो हिउँ, कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमबीच खोजी अघि बढाएको थियो । घटनास्थलसम्म पुग्नै कठिन रहेको र बाक्लो हिउँका कारण शव उद्धार तथा खोजी प्रभावित भएको यसअघि प्रहरीले जनाएको थियो ।








