‘खल्ती’को आधिकारिक कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिलाई फोन गरी अनलाइन ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफू ‘खल्ती’को आधिकारिक कर्मचारी भएको बताउने गरेका थिए। उनीहरूले सेवाग्राहीलाई स्क्रिन सेयर गर्न लगाउनुका साथै ओटीपी कोडसमेत मागेर बैंक तथा डिजिटल वालेट खातामा अनधिकृत पहुँच बनाउने र रकम अन्य व्यक्तिको खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीले उनीहरूलाई असोज २१ गते अपराह्न करिब ४ बजे ललितपुर महानगरपालिका–२८, हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ स्थायी घर भई हाल ललितपुरको हात्तीबन बस्ने २३ वर्षीय सुभम कुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ का २२ वर्षीय पवन कुमार चौधरी र रौतहट गढीमाई नगरपालिका–१ का २१ वर्षीय रिसी गंगा रहेका छन्। उनीहरू हाल ललितपुरको हात्तीबन तथा धापाखेल क्षेत्रमा बस्दै आएका थिए।
प्रहरीले पक्राउ परेकाहरूलाई बुधबार अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतमा पेस गरेको थियो। अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले अनलाइन माध्यमबाट फोन गर्ने व्यक्तिले आफू कुनै कम्पनीको आधिकारिक कर्मचारी भएको बताए पनि ओटीपी, पासवर्ड वा स्क्रिन पहुँचसम्बन्धी संवेदनशील विवरण नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।








