काठमाडौं : आइसीसी लिग-२ को उपाधि अमेरिकाले जितेको छ। नामिबियालाई ४ विकेटले पराजित गरेपछि दुई खेल अगावै अमेरिका च्याम्पियन बनेको हो।

डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा नामिबियाले दिएको २ सय ९९ रनको लक्ष्य अमेरिकाले सात बल बाँकी छँदै पूरा गरेको हो।

अमेरिकाको जितमा कप्तान मोनांक पटेल नायक बने। उनले १ सय ८ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। उनको प्रदर्शनसँगै अमेरिकाले लिग-२ को शीर्ष स्थानमा थप २ अंक जोडेको छ। नामिबियालाई पराजित गर्दै अमेरिका ४७ अंकसहित शीर्ष स्थानमा छ।

यो जितपछि अमेरिका अंक तालिकाको शीर्ष स्थानमा अपराजित रहने पक्का भएको छ। प्रतियोगितामा सहभागी आठमध्ये अन्य टोलीका खेल बाँकी रहे पनि अब कुनै टोलीले अमेरिकालाई अंकमा भेट्टाउन सक्ने छैन। अमेरिकाले जारी शृंखलामा २ खेल खेल्न बाँकी नै छ।

अमेरिकाले यसअघि नै विश्वकप छनोटमा स्थान सुरक्षित गरिसकेको थियो। लिग-२ को उपाधिसँगै अमेरिकाको आगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने आइसीसी पुरुष क्रिकेट विश्वकपमा पुग्ने सम्भावना थप बलियो बनेको छ।

त्यसअघि ब्याटिङ गरेको नामिबियाले ९ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो। ओपनर माइकल भान लिङ्गेनले टोलीलाई बलियो सुरुवात दिलाए। उनले लोरेन स्टेन्क्याम्पसँग शतकीय साझेदारी गरे भने कप्तान जेरार्ड इरास्मससँग पनि महत्वपूर्ण साझेदारी गर्दै नामिबियालाई बलियो योगफलतर्फ डोर्‍याए।

स्टेन्क्याम्पले ३० रन बनाए भने इरास्मसले ७६ रनको योगदान दिए। भान लिङ्गेनको महत्वपूर्ण इनिङ्सका कारण अमेरिकासामु कठिन लक्ष्य खडा भएको थियो। तर, लक्ष्य पछ्याउने क्रममा मोनांक पटेलले संयमित ब्याटिङ गर्दै अमेरिकाको इनिङ्स सम्हाले। उनलाई स्मित पटेलले ५० तथा शेहान जयसूर्याले ७४ रन बनाएर साथ दिए।

लिग २ शृंखला अन्तर्गत नेपाल, ओमान र क्यानडाको शृंखला भोली(अक्टोबर ९)बाट ओमानमा सुरु हुनेछ। नेपालको ध्यान भने एकदिवसीय मान्यता जोगाउनेतर्फ रहनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय