युक्रेनको युद्धग्रस्त सहर क्रामातोर्स्कमा दुई वटा यात्रुवाहक बसमा रुसले ग्लाइड बम प्रहार गर्दा ३३ जनाको मृत्यु भएको छ।
उद्धार अधिकारीहरूका अनुसार आक्रमणमा परि अन्य १८ जना घाइते भएका छन्।डोनेत्स्क क्षेत्रका प्रमुख वादिम फिलास्किनले धेरै भन्दा धेरै सर्वसाधारणको ज्यान लिने नियतले रुसले यात्रुवाहक बसलाई निशाना बनाएको आरोप लगाएका छन्। स्थानीय अभियोजकहरूले सार्वजनिक गरेका तस्बिरहरूमा सडकमा जलिरहेका बसका भग्नावशेष, छरिएका वस्तुहरू र पीडितहरूको शव देख्न सकिन्छ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको औद्योगिक क्षेत्र डोन्बासलाई कब्जा गर्ने रणनीतिअन्तर्गत क्रामातोर्स्क र छिमेकी स्लोभ्यान्स्क सहरलाई घेर्ने प्रयास गरिरहेका छन्। पछिल्ला दिनहरूमा रुसले युक्रेनभरि आक्रमणलाई तीव्र बनाएको छ, जसका कारण सर्वसाधारणको क्षति ह्वात्तै बढेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ को तुलनामा यस वर्षको अगस्टसम्ममै युक्रेनमा धेरै सर्वसाधारणको ज्यान गइसकेको छ। यसअघि बुधबार बिहान किभको पूर्वमा रहेको प्रिलुकीमा एक पाँचतले आवासीय भवनमा भएको आक्रमणमा ५ बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो, जसमा तीन जना एक वर्षका शिशु थिए।
पछिल्लो आक्रमणका विषयमा मस्कोले कुनै टिप्पणी गरेको छैन। उद्धार अधिकारीहरूका अनुसार बम प्रहारबाट यात्रु बोकेका दुवै बसमा भीषण आगलागी भएको थियो।








