काठमाडौँ । काठमाडौँको माइतीघरबाट ३ करोड ३८ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्। बुधबार अपराह्न काठमाडौँ महानगरपालिका-११ माइतीघरस्थित सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेका महतोलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो। उनलाई रोकेर सोधपुछ तथा चेकजाँच गर्दा वान एक्सबेट र माेबक्यास एप्लिकेसनमार्फत अनलाइन जुवा (सट्टेबाजी) गराएको तथा यूएसडीटी लगायतका अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको खुलेको हो। हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको अवैध कारोबार गरेको पाइएपछि प्रहरीले उनलाई १ थान मोबाइलसहित नियन्त्रणमा लिएको छ।अभौतिक मुद्रा तथा सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।








