काठमाडौं। नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।सामान्यतया एमालेको औपचारिक बैठक वा अनौपचारिक छलफलमा अध्यक्षका लागि बीचमा कुर्सी व्यवस्थापन गरिएको हुन्छ। अध्यक्षको दायाँ लहरमा उपाध्यक्षहरू बस्ने चलन छ।
अहिले एमालेमा पहिलो वरियताको उपाध्यक्ष रामबहादुर थापा ‘बादल छन्। त्यसपछिको वरीयतामा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त छन्।
त्यसपछि महासचिव शंकर पोखरेलको वरीयता हो।
महासचिव पोखरेलसहित उपमहासचिवहरू र सचिवहरूलाई बायाँ लहरमा राख्ने चलन थियो। जसअनुसार महासचिव पोखरेलसहित उपमहासचिव योगेश भट्टराई, लेखराज भट्ट, रघुवीर महासेठ र ९ जना सचिवहरू रहने परम्परा थियो। नवौं र दसौं महाधिवेशनपछिका बैठकहरू त्यसैगरी चलेका थिए।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सिट परिवर्तन गरिदिएको एक नेताले बताए।
ती नेताका अनुसार आजको बैठकमा अध्यक्षको दायाँपट्टि भर्खरै वरिष्ठ नेता मनोनीत भएकी विद्या भण्डारीलाई सिट व्यवस्थापन गरिएको थियो। भण्डारी ११ वर्षपछि आजैबाट पार्टी नेतृत्वको भूमिकामा फर्किएकी हुन्। उनलाई शपथ पनि आजै गराइएको थियो।
दायाँतर्फ भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बसेका थिए।
शंकर पोखरेललाई आठौं स्थान तय गरिएको थियो।
पार्टी संरचनामा महासचिवलाई अध्यक्षपछिको कार्यकारी मानिने भएकाले सोहीअनुसार सिट व्यवस्थापन गरिएको हुन्छ।
तर आजको बैठकमा दृश्य फेरिएको एमालेका नेताहरूले बताएका छन्।
‘सधैँ अध्यक्षको बायाँतर्फ सिट व्यवस्थापन गरिएको हुन्थ्यो। आज उहाँका लागि आठौं स्थानमा सिट तय गर्न भनिएको रहेछ,’ एक पदाधिकारीले भने।
ती पदाधिकारीकाअनुसार अध्यक्ष ओली कार्यालय सचिव डा. भीष्म अधिकारीलाई महासचिवलाई आठौं स्थानको कुुर्सी छुट्टयाउने गरी सिट व्यवस्थापन गर्न भनेका थिए।
अध्यक्ष ओली र महासचिव पोखरेलबीच पछिल्लो समय मनमुटाव छ। जुन कुरा यसअघिको तेस्रो केन्द्रीय कमिटी बैठकमा पनि देखिएको थियो। अध्यक्ष ओलीले महासचिव पोखरेललाई बैठक सञ्चालन गर्न पनि दिएनन्।
यसबारे बैठक सुरू भएको भोलिपल्ट महासचिव पोखरेलले आफू र अध्यक्ष ओलीबीच सम्बन्ध बिग्रिएको बताएका थिए। त्यसैका कारण कसैले विधान खोजेको, कसैले परम्परा खोजेको भन्दै टिप्पणी गरेका थिए।
गत फागुन २१ गतेको निर्वाचनपछि पोखरेल केही समय पार्टी पुनर्गठन र रूपान्तरणको पक्षमा उभिएका थिए।
गत जेठ ४ गते बसेको आठौं सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरूले पुनर्गठनको पक्षमा आवाज उठाएपछि कार्यदल गठन भएको थियो।
१३ वटा समूहसँग छलफल गर्दै प्रतिवेदन बनाउने बेला अध्यक्ष ओलीले हस्तक्षेप गरे। कार्यदल विभाजित भयो। स्वयम् संस्थापन समूह पनि विभाजित भयो। तलबाट आएका सुझाव समेटेर महासचिव पोखरेलले प्रतिवेदन तयार पारे पनि कार्यदलबाट अनुमोदन गराउन सकेनन्।
अन्ततः गत केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीसँग सम्झौता गरे।
तर ओलीको मनको तिक्ता अझै मेटिएको छैन।
‘जुन कुरा आजको बैठकमा पनि देखियो। अध्यक्षले महासचिव पोखरेलको आसन नै परिवर्तन गरिदिनुभयो,’ अर्का सचिवालय सदस्यले भने।








