काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको उनको भनाइ छ।

‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपालमा नेपाली वस्तुको ब्रान्डिङ कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्रान्डसमेत बजारमा बिक्री भइरहेको बताए।

नेपालमा धेरै सम्भावना भएका वस्तुहरू रहेको उल्लेख गर्दै उनले छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्रान्डिङ गर्न नसकिएको बताए। ब्रान्डिङका क्षेत्रमा कानुनी समस्याहरू पनि रहेकाले उपयुक्त कानुन बनाएर त्यसलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

नेपाली ब्रान्ड केवल कुनै वस्तु वा सेवाको नाम मात्र नभई उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय भएको उनको भनाइ छ।

नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने मल्होत्राले स्पष्ट पारे। उत्पादनसँगै ब्रान्डिङ, गुणस्तर, बजार विस्तार र उपभोक्ताको विश्वास निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए।

नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहिचान अपेक्षाकृत कमजोर रहेको बताउँदै उनले ‘मेड इन नेपाल’ लाई विश्व बजारमा बलियो पहिचान दिलाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए।

नेपाली ब्रान्डलाई नेपालको बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेमा उनले जोड दिए। त्यसका लागि सरकारले स्थिर नीति, सहज व्यावसायिक वातावरण, लगानीमैत्री कानुन, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने उनको सुझाव छ।

निजी क्षेत्रले उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तथा सञ्चार क्षेत्रले नेपाली उत्पादन र सफल उद्यमशीलताका सकारात्मक कथा स्वदेश तथा विदेशमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय