बारा जीतपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आलोक साहको कम्मरदेखि मुनिको भाग पूर्णरूपमा चल्दैन। दुवै खुट्टा नचल्ने भएपनि उच्च शिक्षा हासिल गरेर भविष्यमा ‘पोलिटिसियन’ बन्ने सपना बुनेका आलोक अनेकौं सास्तीकाबीच पढाइलाई निरन्तरता दिइरहेका छन्। उनको यो मनोबल र इच्छाशक्तिसामू विद्यालयको अपूरो पूर्वाधारले भने निराशाको इट्टा थपिरहेको देखिन्छ।

आलोक जीतपुरसिमरा–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन्। आलोकका लागि विद्यालयको यात्रा दिनहुँ कष्टपूर्ण बनिरहेको छ। विद्यालयमा अपाङ्गमैत्री शौचालय नहुँदा उनले हरेक दिन आफ्ना सहपाठी साथीहरूको सहारामा बोकिएर शौचालय जानुपर्ने सास्तीपूर्ण बाध्यताको सामना गरिरहेका छन्। जसले उनलाई मानसिक रुपमा कमजोर बनाईरहेको छ।

विद्यालय परिसरसम्म उनी मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट प्राप्त इलेक्ट्रिक ट्राइसाइकल चढेर पुग्छन्। विद्यालय परिसरमा नेपाल अपाङ्ग संघको सहजीकरणमा उलपब्ध भएको ह्विलचेयरको प्रयोग गर्छन्। तर जब शौचालय जानुपर्ने हुन्छ उनको चिन्ता बढ्दै जान्छ।

कारण विद्यालयमा अपाङ्गमैत्री शौचालयको अभाव। त्यसैले आलोकलाई शौचालय जानु पर्दा कक्षाका अन्य छात्रहरुले बोकेर लैजाने गरेका छन्। साथीहरूले उनलाई ह्विलचेयरबाट बोकेर शौचालयभित्र पुर्याउँछन् र दिसापिसाब गरिसकेपछि पुनः बोकेर ह्विलचेयरमा बसाइदिन्छन्। यो आलोकले विद्यालयमा दैनिकजसो व्यहोनुपर्ने समस्या हो।

हरेक दिन अरूको सहारा लिनुपर्ने र साथीहरूलाई झन्झट दिनुपर्ने डरले आलोकको मानसपटलमा गहिरो मनोवैज्ञानिक असर पारिरहेको देखिन्छ। डरकै कारण उनी बिहान घरबाट निस्कँदा पानी समेत नपिई विद्यालय आउने गरेका छन् भने खाजा खान समेत डराउँछन्। शौचालय जानुपर्ने बाध्यताबाट बच्न यो विकल्प रोजेको आलोक बताउँछन्। ‘शौचालय जानुपर्छ भन्ने डरले म घरबाट पानी समेत नपिएर निस्कन्छु’ आलोकले भने ‘शौचालय जानुपर्ने भयो भने साथीहरुले बोकेर लगिदिन्छन्’ आलोकले भने ‘उनीहरुकै सहारामा शौचालय जाने आउने गरिरहेको छु । कहिलेसम्म साथीहरुले गरिदिन्छन् भन्ने कुराले चिन्तित छु।’ शौचालयको ढोकासम्म ह्विलचेयर लिएर पुग्ने आलोकलाई अपाङ्गमैत्री ¥याम्प नहुँदा त्यहाँबाट भित्र जान समस्या हुने गरेको छ।

विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्य अपाङ्गमैत्री शौचालयको अभाव रहेको स्वीकार गर्छन्। विद्यालयको आन्तरिक स्रोत साधनले मात्र छुट्टै अपाङ्गमैत्री शौचालय निर्माण गर्न गाह्रो हुने बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकारले यसका लागि पहल गरिदिए सहज हुने बताउँछन् ।
‘हामीसँग पहिला अपाङ्गता भएका छात्रछात्रा थिएनन्। हालै कक्षा ११ मा भर्ना भएर एक जना छात्र आउनुभएको छ’ आचार्यले भने ‘हामीसँग पुरानै पूर्वाधारहरु छन् । नयाँ बनाउनका लागि स्रोत छैन । जसले गर्दा समस्या भईरहेको छ।’

उक्त विद्यालयमा मात्र होइन जीतपुरसिमरा उपमहानगरपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा अपाङ्गमैत्री शौचालय छैनन्। निजी विद्यालयको अवस्था पनि उस्तै छ । त्यसैले पनि आलोक जस्ता विद्यार्थी यस्तै समस्याकाबीच आफ्नो अध्ययन र सपना पूरा गर्न बाध्य छन्। होस्टेलमा बसेर काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयको एसईई उत्तीर्ण गरेका आलोकका लागि ११ कक्षाको यात्रा सुरु गर्नु नै ठूलो पहाड पन्छाउनु सरह भएको थियो । काठमाडौंमा ११ कक्षा पढ्नका लागि उनले न त होस्टेल पाए, न त सस्तो र पहुँचयोग्य कोठा नै। घरपरिवारको आर्थिक स्थिति कमजोर भएकाले आमाबुवा काठमाडौं बसेर हेरचाह गर्न सक्ने अवस्था भएन। त्यसैले एसईईपछि उनी सिमरा नै फर्कन बाध्य भए।

उनी सिमरामा कक्षा ८ सम्म पढेर ९ र १० का लागि काठमाडौं गएका थिए। एसईई उतीर्ण गरेर सिमरा फर्किएपछि पनि विद्यालयहरूले उनलाई कक्षा ११ मा भर्ना लिन अस्वीकार गरे। अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि लड्दै आएका नेपाल अपाङ्ग संघ बाराका पूर्वअध्यक्ष गंगाप्रसाद वाग्लेको पहलपछि मात्र विद्यालयले उनलाई भर्ना लियो। वाग्लेले विद्यालयमा अपाङ्गमैत्री शौचालय बनाउन पहल गर्ने वचन दिएपछि भर्ना लिइएको थियो । शैक्षिक जनशक्ति र समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण तथा राज्यको संरचनागत विभेदकाबीच आलोकजस्ता विद्यार्थीले पढ्नका लागि युद्ध लडेझैं लड्नुपर्ने अवस्था रहेको वाग्लेको भनाइ छ।

‘पूर्वाधार नभएका कारण विद्यालयले भर्ना लिन मानिरहेको थिएन । हामीले पहल गर्छौ भनेपछि भर्ना लियो’ वाग्लेले भने ‘तर तत्कालै शौचालय निर्माण गरिदिने वातावरण कतैबाट पनि बनिरहेको छैन । हामीले संघ, प्रदेश र स्थानीय तहको सरकारसँग आग्रह गरिरहेका छौं । तर अहिलेसम्म सुनुवाई भएको छैन ।’ आलोकले देखाएको इच्छाशक्तिका कारण पनि उनको अध्ययनका लागि आईपर्ने समस्या समाधान गरेर अघि बढ्ने वाग्लेको भनाइ छ ।
वाग्लेले आलोकको आधारभूत तहको शिक्षालाई निरन्तरता दिन पनि सहयोग गरेका थिए । जीतपुरसिमरा–३ स्थित एक विद्यालयमा कक्षा ८ उतीर्ण गरेपछि आलोकलाई वाग्लेले नै काठमाडौं पठाउने वातावरण बनाए। वाग्लेले नै पहल गरेर विभिन्न निकायबाट ट्राईसाइकल, ह्विलचेयर उपलब्ध गराईरहेका छन्।

आलोकको एउटा ठूलो र साहसी सपना छ पढेर पोलिटिसियन अर्थात राजनीतिज्ञ बन्ने। कसरी यो सोच आयो भन्ने प्रश्नमा उनीसँग कुनै तयारी जवाफ त छैन, तर समाजका लागि राजनीति गर्ने चाहना छ। उनी जुन देशमा राजनीति गर्ने सपना देख्दैछन् त्यही देशको राजनीतिक नेतृत्व उनी जस्ता नागरिकका आधारभूत आवश्यकता पुरा गर्नेप्रति भने मुकदर्शक बनिरहेका छन्।

आलोकको संघर्ष देखेर उनका आमाबुवा भने निकै चिन्तित छन् । फर्निचरसम्बन्धी काम गरेर परिवार पाल्दै आएका बुवा सुरेश आलोकले भोगेको सास्तीले चिन्तित छन्। ‘छोरा पानी समेत नखाई विद्यालय जान्छ, दिनभर भोकै, प्यासै बस्छ’ सुरेशले भने ‘छोरालाई पानी समेत नखाएर विद्यालय पठाउन कसको आमाबुवाको मनले मान्छ । तर यहाँ समस्या अर्को छ । हामीले केही भन्न सक्दैनौं।’

बुवा सुरेशका अनुसार आलोकलाई ११ महिनाको हुँदा आएको ज्वरोको उपचारका गर्न कलैया अस्पताल लगिएको थियो। तर गलत उपचार र सुईको प्रयोगका कारण उनको दुवै खुट्टा नचल्ने भयो । छोरालाई पुनः आफ्नै खुट्टामा उभ्याउन सुरेश र उनकी पत्नी सुमित्रा देवीले कुनै कसर बाँकी राखेका छैनन्। उनीहरूले काठमाडौंका मोडल अस्पताल, जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल, बनेपादेखि भारतको राजस्थानसम्म पुर्याएर आलोकको उपचार गराईसकेका छन्।

दुई वर्षको पालो पर्खाइपछि राजस्थानमा दुवै खुट्टाको शल्यक्रिया भयो। चिकित्सकहरूले खुट्टा ठिक हुने आश्वासन दिएका थिए। पाँच पटकसम्म राजस्थान धाएपछि आलोकले अलिअलि हिँड्न समेत थालेका थिए। तर त्यसपछिको निरन्तर उपचारका लागि परिवारसँग पैसा सकियो। उपचार गराउँदा लागेको ऋण तिर्नका लागि उनले बसिरहेको घर समेत बेच्नुपर्यो। साह परिवार अहिले भाडाको घरमा बस्न बाध्य छ।
आमा सुमित्रादेवी छोरा आलोकको विषयलाई लिएर निकै चिन्तित छिन्। ‘हामीले भ्याएसम्म गर्यौ, घरबार नै बेच्यौं। अझै पनि छोराको राम्रोसँग उपचार गराउन पाए उ हिँड्न सक्थ्यो कि भन्ने आशा छ’ सुमित्रा देवीले भनिन् ‘आलोकको उपचार अझै सम्भव छ भनेर चिकित्सकले पनि भनिरहनुभएको छ। त्यसैले पनि आशा जिवित छ तर हामीसँग उसलाई अस्पताल लैजाने पैसा छैन।’ परिवारका अनुसार आलोकको उपचारका लागि कम्तिमा अझैं १० लाख रुपैयाँको आवश्यकता छ। चिकित्सकले आलोकको खुट्टा पूर्णरुपमा ठिक हुने दावी गरिरहेका छन्।

उपचारकै क्रममा आलोक केही हिड्न सक्ने अवस्थामा पुगेकाले पनि परिवारमा आशा जागेको देखिन्छ। तर घरनै बेचिसकेका साह परिवारले अब फेरि अस्पताल लैजाने बाटो भेटेका छैनन्। उनीहरु छोरा आलोकको उपचारका लागि सरकारले पनि पहल गर्छ कि भन्ने आशा बोकिरहेका छन ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय