काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव (बिक्की यादव) ले पार्टीबाट राजीनामा दिएका छन्।युवा तथा खेलकुद विभागका प्रमुख समेत रहेका उनले शुक्रबार अध्यक्ष उपेन्द्र यादवसमक्ष राजीनामा दिएका हुन्। राजीनामा पत्रमा यादवले भनेका छन्, ‘मेरो राजनीतिक प्रतिबद्धता कुनै व्यक्ति, पद वा निजी स्वार्थप्रति थिएन, मधेसका उत्पीडित समुदायको मुक्ति, अधिकारको संस्थागत सुनिश्चितता र न्यायपूर्ण समाज निर्माणप्रति थियो ।’वर्तमान राजनीतिक दिशा, आन्तरिक लोकतन्त्रको अवस्था र नेतृत्व विकासप्रतिको दृष्टिकोणसँग गम्भीर असहमति जनाउँदै पार्टीबाट अलग भएको उनले बताए।
पार्टीलाई मधेसका मुद्दा संस्थागत गर्ने माध्यम बनाउन खोजिएकामा सीमित नेतृत्वको राजनीतिक स्वार्थ र व्यक्ति केन्द्रित निर्णयको घेरामा साँघुरिँदै गएको अनुभूति आफूलाई भएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।
विचारभन्दा व्यक्ति, संस्थाभन्दा नेतृत्व र सामूहिक निर्णयभन्दा सीमित स्वार्थ निर्णायक बन्दै जाने प्रवृत्तिले पार्टीको लोकतान्त्रिक चरित्र र भविष्यप्रति गम्भीर प्रश्न खडा भएको उनले बताए।








