काठमाडौँ। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर नेतृत्व चयन र साङ्गठनिक गतिविधि समानान्तर रूपमा अघि बढिरहेका बेला उदयपुरमा देउवा पक्षले क्षेत्रीय नेतृत्व चयन गरेको छ।
शुक्रबार चौदण्डीगढी नगरपालिकामा आयोजित अधिवेशनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा तिलकबहादुर कटुवाललाई निर्विरोध चयन गरेको छ। त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) को सभापतिमा सरोज कोराला र १ (ख) को सभापतिमा राजकुमार दनुवार निर्विरोध चयन भएका छन्।१५औँ महाधिवेशन तयारी समिति उदयपुरका संयोजक तथा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले क्षेत्रीय सभापतिमा कटुवाल र प्रदेशसभा क्षेत्रीय सभापतिमा कोराला तथा दनुवार निर्विरोध चयन भएको जानकारी दिए। पार्टीको नियमित महाधिवेशनअन्तर्गत वडा र पालिकाबाट सुरु भएको साङ्गठनिक प्रक्रिया क्षेत्रीय तहसम्म आइपुगेको उनले बताए।








