बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
महाअष्टमीका दिन शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन्।
बिहानैदेखि मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने श्रद्धालुको चहलपहल बढेको छ। दसैँको महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गरिन्छ। यस दिन देवीको आराधना, बलिपूजा तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने परम्परा छ। दसैँका प्रमुख शक्तिपीठहरूमा पनि आज भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ।








