काठमाडौं । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि नेपाली कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको छ ।
मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको शपथ ग्रहण भएसँगै विवरण अद्यावधिकका लागि कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोग जाने तयारी भएको पुष्टि गरे ।
‘अहिले हामी तयारीमै छौं । सबै कागजात र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ,’ उनले सत्य संबादसँग भने, ‘तयारी सम्पन्न भएपछि आयोग जान्छौं ।’
तर, उनले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोग जाने समय भने खुलाएनन् ।
‘तयारी पूरा भएपछि आयोग जाने हो,’ अनलाइनखबरको जिज्ञासामा मुख्य सचिव दुलालले भने, ‘जाने बेला भएपछि म तपाईंलाई जानकारी गराउँछु ।’
उनले विवरण अद्यावधिकका लागि आयोगमा जाने विषयलाई सामान्य प्रक्रियाका रुपमा व्याख्या गरे ।
‘आयोगमा जाने विषयलाई त्यति ठूलो कुरा बनाउनुपर्ने होइन । यो सामान्य प्रक्रिया हो,’ दुलालले भने, ‘विधान र कानुनअनुसार गर्नुपर्ने काम भएकाले हामी त्यसैअनुसार अघि बढ्छौं ।’
तथापि, कार्यवाहक मुख्यसचिव दुलालले सोमबारभित्र आयोग जाने संकेत भने गरे । ‘आज–भोलिमध्ये आयोग जाने तयारी छ,’ उनले भने, ‘सोमबारभित्र हामी आयोग जान्छौं ।’
बिहीबार शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकको जिम्मा कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो ।








