काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने सपना रहेको बताएका छन् ।
विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा जुटिरहेको उनको भनाइ छ ।
विराटनगरमा आयोजित पार्टी अगुवाहरूसँगको अन्तक्रियामा बोल्दै सचेतक परियारले सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर नेपाल निर्माण गर्ने रास्वपाको लक्ष्य सामान्य भएको बताएका हुन् ।
जनतासामु गरिएको प्रतिबद्धताअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्न पार्टी तथा सरकार निरन्तर क्रियाशील रहेको उनको भनाई छ ।
‘एक दशक भित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर दक्षिण एशीयाली राष्ट्र बनाउने हाम्रो सपना चानचुने प्रयासले सम्भव छैन,’ उनी भन्छन्, ‘त्यसैले वाचापत्रअनुसार काम, परिणाम र सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि अहोरात्र खटिरहेका छौं ।’
रास्वपा नेता परियारले जनताको विकास, समृद्धि र सुशासनप्रतिको अपेक्षालाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताए । सरकार र पार्टीले जनतासामु गरेका प्रतिबद्धतालाई परिणाममा बदल्न इमानदार प्रयास गरिरहेको उनको भनाइ थियो ।
परियारले संसद्लाई जनताका सवाल उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रभावकारी थलोका रूपमा प्रयोग गर्नुपर्ने बताए । जनसरोकारका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आफूहरू निरन्तर सिक्ने, कमजोरी सच्याउने र आत्मसुधारको प्रक्रियामा रहेको उनले बताए ।
राजनीतिक दल तथा जनप्रतिनिधिले आफूलाई सधैं सही ठान्नुभन्दा जनताका प्रश्न, आलोचना र सुझावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
रास्वपाका नेता, सांसद, मन्त्री तथा अन्य अगुवामा पद र शक्तिका कारण अहङ्कार बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गर्दै परियारले सञ्चारमाध्यम र नागरिक समाजलाई रचनात्मक खबरदारी निरन्तर निगरानी राख्न अपिल गरे ।
‘हामीबाट पनि कमजोरी हुन सक्छ । गलत काम वा गलत कार्यशैली देखिएमा खबरदारी गर्नुस् । पद र शक्तिको अहंकार बढ्न नदिन मिडिया र नागरिक समाजको रचनात्मक निगरानी आवश्यक छ,’ उनले भने ।








