काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनलाई ‘लाजमर्दो’ र ब्राजिलका जनताका लागि ‘अपमानजनक’ भएको टिप्पणी गरेका छन् ।
वासिङ्टनमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफूले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष नलिएको तर ब्राजिलमा भएको घटनालाई शब्दमा वर्णन गर्न कठिन भएको बताएका छन् ।
उनले भने, ‘मैले निर्वाचनमा कसैको पक्ष लिएको थिइनँ । तर ब्राजिलमा जे भयो, त्यो देखेपछि त्यसलाई शब्दमा व्यक्त गर्नै कठिन भयो ।’
ब्राजिलका नेता लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनमा शानदार पुनरागमन गर्दै जित हासिल गरेका छन् । यस जितसँगै वर्कर्स पार्टीका ८० वर्षीय नेता लुलालाई चौथो पटक राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ ।
उनले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।
लगभग सबै मतगणना सम्पन्न भएपछि आइतबार ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक ब्राजिलमा भएको निर्वाचनको दोस्रो चरणमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् ।
त्यस्तै, जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत प्राप्त गरेका छन् ।
लुलाको जित विभिन्न निर्वाचनपूर्वका सर्वेक्षणको अनुमानविपरीत आएको हो । ती सर्वेक्षणमा फ्लाभियो बोल्सोनारोलाई झिनो अग्रता दिइएको थियो ।
यसै महिनाको सुरुवातमा भएको पहिलो चरणको मतदानमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले लुलाभन्दा करिब दुई प्रतिशत विन्दुले बढी मत प्राप्त गरेका थिए ।
तर दोस्रो चरणको मतदानमा लुलाले बाजी मार्दै राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका हुन् ।








