काठमाडौं । पोर्चुगल तथा साउदी प्रो लिग क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले शानदार ह्याट्रिक गरेका छन् ।

साउदी प्रो लिग अन्तर्गत हिजो राति भएको अल नासर भर्सेस अल खोलुदबीचको खेलका क्रममा रोनाल्डोले १५ मिनेटभित्र ह्याट्रिक पूरा गरेका छन् । उनले ६६ औँ, ७२ औँ र ८१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

करियरको ६७ औँ ह्याट्रिक पूरा गरेका रोनाल्डोले यसअघि सन् २०२४ मे ४ मा साउदी प्रो लिग अन्तर्गत अल वेहदाविरुद्ध ह्याट्रिक गरेका थिए । उक्त ह्याट्रिक गरेको साढे दुई वर्षपछि अर्थात् ९०८ दिनपछि अर्को ह्याट्रिक गरेका हुन् ।

यस ह्याट्रिकसँग रोनाल्डोको गोल संख्या ९८५ पुगेको छ । १००० गोलको ऐतिहासिक रेकर्डको दौडमा रहेका रोनाल्डो अब १५ गोल मात्र टाढा छन् ।

हिजोको ह्याट्रिकसँगै युरोप, अमेरिका तथा साउदी प्रो लिग जस्तो ठूला लिगहरूमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी पनि रोनाल्डो नै बनेका छन् । हिजो ह्याट्रिक गर्दा उनी ४१ वर्ष २६६ दिनका थिए ।

हिजो भएको खेल अल नासरले ५–३ ले जितेको थियो । अल नासरका लागि बाँकी दुई गोल साडियो माने र एन्जेलो ग्राबियलले गरेका थिए । जितसँगै अल नासर ११ खेलबाट २८ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय