जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला परेकी छन्।
जापानी सञ्चारमाध्यमका अनुसार यही अगस्ट १९ तारिख (भदौ ३ गते) फुकुओका सहरस्थित नाकागावा नदीमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शव भेटिएको हो।
उनको घर झापाको भद्रपुर-७, अन्जनी मोड हो।
उनी नदीमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् भने अनुहार तथा टाउकोमा चोट थिए।
उनी टी-सर्ट र छोटो पाइन्ट लगाएको तर खुट्टामा जुत्ता नभएको अवस्थामा थिइन्।
फुकुओका प्रहरीका अनुसार लक्ष्मी फुकुओका सहरको चुओ वार्डमा बस्ने व्यावसायिक विद्यालयकी विद्यार्थी थिइन्।
प्रहरीले उनको मृत्यु दुर्घटना नभई हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान गरिरहेको छ।
झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश पाठकका अनुसार लक्ष्मीको घर झापा भद्रपुर-७, अन्जनी मोड हो।
उनले पनि लक्ष्मीको हत्या नभै भएको बताएका छन्।
‘घटना सुनेलगत्तै मैले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रक्रिया सहजीकरणको काम गरिरहेको छु। घटनाको छानबिन, दोषिमाथि कारबाही, शव नेपाल ल्याउने प्रक्रिया लगायतमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, जापानस्थित नेपाली दूतावासले जिम्मेवारिताका साथ पहल गरिराखेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सबै पक्षसँग नियमित सम्पर्कमा रहेर गम्भीरतापूर्वक घटनाको सहजीकरणका काम अघि बढाइरहेका छौँ।’
उनका अनुसार घटनाबारे जापानको प्रहरीले पनि सूक्ष्म अनुसन्धान गरिरहेको टोकियोस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
यस क्रममा जापान प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको दूतावासलाई उधृत गर्दै सांसद पाठकले बताएका छन्।






