आज शुक्रबार पनि दिउँसो तथा राति काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले बताएका छन्।
उनका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोपछि बादल बढ्दै गएर अपराह्न/साँझपख वर्षा हुने सम्भावना छ।
‘काठमाडौँ उपत्यकामा विशेषगरी साँझ वा राति वर्षाको सम्भावना बढी देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘मध्यम र खण्डीकृत वर्षा हुने सम्भावना छ।’
उनका अनुसार खण्डीकृत वर्षा भनेको उपत्यकाभित्रै कतै पानी पर्दा कतै नपर्ने अवस्था हो।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
यी स्थानमा बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित २५ जिल्ला र आसपासका ससाना नदीमा बाढी आएर जोखिम निम्तिने सम्भावना छ।
बाढी महाशाखाले बुलेटिन जारी गरी भनेको छ, ‘आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’







