काठमाडौं । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शोमा यसपटक पनि जी-१ ह्युमनोइड रोबोट र गो-२ क्वाड्रुपेड प्रदर्शन हुने भएको छ । नाडाको स्वर्ण जयन्ती संस्करणको रुपमा हुन लागेको उक्त शोमा रोवोट मानब र रोबोट कुकुर प्रदर्शन हुन लागेको हो ।

तर, यसपटकको अटो शो रोबोटको रमाइलोमा मात्र सीमित नहुने नाडाले जनाएको छ । अटो शो नेपालले विद्युतीय सवारीमा गरिरहेको तीव्र रूपान्तरण र त्यसले निम्त्याएको पूर्वाधार चुनौतीमा केन्द्रित हुनेछ ।नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् । जसमध्ये ८० प्रतिशतभन्दा बढी चीन र बाँकी मुख्यतः भारतबाट आयातित हुन् । बढ्दो इभीलाई धान्न निजी आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल त तयार भएको छ । तर पूर्वाधार निर्माणभन्दा ईभीको आयात निकै छिटो भइरहेको छ ।यो प्रदर्शनीले सवारीसाधन र पूर्वाधारबीचको यो खाडललाई एउटै मञ्चमा राखेर समाधान खोज्ने प्रयास गर्ने आयोजकको भनाइ छ ।

ईभी र हाइब्रिड गाडीको वर्चस्व

प्रदर्शनीमा यसपटक विभिन्न मूल्य र आकारका विद्युतीय तथा हाइब्रिड गाडीहरूको लाइनअप देखिनेछ ।

नेपालको ईभी बजारमा धेरै रुचाइएका ब्रान्डहरूमध्ये बीवाईडी, स्टेलान्टिसको लगानी रहेको लीपमोटर, विश्वका थुप्रै ब्रान्डको स्वामित्व राख्ने जिली, तथा सहरी प्रयोगका माइक्रो ईभीसहित एमजी र वुलिङले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् ।

त्यस्तै, दुईपाङ्ग्रेतर्फ कनेक्टेड इभी ‘रिभोल्ट’ र नेपालमै डिजाइन तथा एसेम्बल भएको ‘यात्री’ मोटरसाइकल मुख्य आकर्षणमा रहनेछन् ।

सवारीसाधनको प्रयोगलाई व्यवहारिक बनाउने चार्जिङ पूर्वाधारका कम्पनीहरू पनि यसपटक अटो शोमा सँगै हुनेछन् ।

प्रदर्शनीका आधिकारिक चार्जिङ पार्टनर जीआई चार्जरसहित एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणालीको प्रदर्शन गर्नेछन् ।

‘नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधारभन्दा छिटो भित्रियो, यो कुरा नलुकाउनु नै राम्रो हो,’ नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती भन्छन्, ‘यस प्रदर्शनीले गर्न सक्ने मुख्य काम भनेको गाडी, चार्जर र यी दुवैलाई वित्त उपलब्ध गराउनेलाई एउटै ठाउँमा राखेर इमानदार छलफल गराउनु हो ।’

अटो शोमा भर्खरै परिवर्तन भएको कर प्रणालीबारे पनि बहस हुनेछ । सरकारले इभीको आयात करलाई मोटरको किलोवाट क्षमतामा आधारित प्रणालीबाट हटाएर मूल्यमा आधारित ‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेभी’ मा रूपान्तरण गरेको छ ।

नेपाली इभी बजारले भोगेको यो सबैभन्दा ठूलो नीतिगत परिवर्तन हो । यसले बजारमा पार्ने असर र प्रभावबारे सम्बन्धित सरोकारवालासँग अटो शोकै मञ्चमा मन्थन हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय