कृत्रिम बौद्धिकताको विकास र डाटा सेन्टरहरूको बढ्दो मागका कारण विश्वभर मेमोरी चिप्सको चरम अभाव (मेमोरी क्रन्च) देखिएको छ, जसको सीधा असर आम उपभोक्तामा पर्न थालेको छ ।
 
यही कारण देखाउँदै अमेजनले आफ्ना विभिन्न लोकप्रिय इलेक्ट्रोनिक्स उपकरणहरूको मूल्यमा भारी बृद्धि गरेको छ । अमेजनले इको स्पिकर, फायर टिभी, किन्डल ई–रिडर र इरो राउटरजस्ता डिभाइसहरूको मूल्य रातारात बढाएको छ, जसमा केही उत्पादनहरूको मूल्य ६० प्रतिशतसम्मले बढेको हो ।
 
यसरी मूल्यवृद्धि हुँदा अमेजनको लोकप्रिय ग्याजेट इको डट सबैभन्दा बढी प्रभावित भएको छ । यसको मूल्य ४९.९९ अमेरिकी डलरबाट ६० प्रतिशतले बढेर सीधा ७९.९९ डलर पुगेको छ, जसले गर्दा यसमा ३० डलरको अतिरिक्त भार थपिएको छ ।
 
यसैगरी, १६ जीबी क्षमताको किन्डल ईरिडरको मूल्य पनि ४० डलरले बढेर १४९.९९ डलर पुगेको छ । स्ट्रिमिङ स्टिकदेखि घरमा प्रयोग हुने नेटवर्किङ उपकरणहरूसम्म सबैतिर मूल्यवृद्धि लागू भएको छ । अमेजनले आफ्ना सामग्रीहरूको लागत धान्न कठिन भएपछि बाध्य भएर यो मूल्यवृद्धि गर्नुपरेको जनाएको छ ।
 
यो समस्या अमेजनमा मात्र सीमित भने छैन । एप्पलले पनि मेमोरी चिप्सको बढ्दो लागतलाई कारण देखाउँदै आफ्ना उत्पादनहरूको मूल्य बढाएको छ भने माइक्रोसफ्टले पनि एक्सबक्स हार्डवेयरमा यस्तै कदम चालेको छ ।
 
विशेष गरी क्लाउड कम्पनीहरू र ठूला डाटा सेन्टरहरूले एआई पूर्वाधारका लागि ठूलो परिमाणमा मेमोरी चिप्स लान थालेपछि बजारमा आपूर्ति संकट गहिरिएको हो । जेपी मोर्गन ग्लोबल रिसर्चको रिपोर्ट अनुसार, सन् २०२४ को सुरुदेखि २०२६ को अन्त्यसम्ममा डीआरएम (डाइनेमिक रेन्डम एक्सेस मेमोरी) को मूल्य ४०० प्रतिशत वा सोभन्दा बढीले बढ्ने अनुमान गरिएको छ ।
 
यसको सबैभन्दा ठूलो मार सस्तो मूल्यका बजेट ग्याजेटहरूमा परेको छ ।
 
अन्तराष्ट्रिय बजार अनुसन्धान संस्था आईडीसीका अनुसार यसले गर्दा विश्वव्यापी रूपमा पीसी र स्मार्टफोनहरूको आपूर्ति घट्ने देखिएको छ भने कम मूल्यका स्मार्टफोनहरूको बिक्रीमा ठूलो गिरावट आएको छ ।
 
माइक्रोसफ्ट, अमेजन र अन्य ठूला क्लाउड प्रदायकहरूले दीर्घकालीन सम्झौतामार्फत मूल्यको जोखिम कम गरे पनि आम उपभोक्तासँग मूल्यवृद्धिलाई छल्ने कुनै उपाय छैन । बजार विश्लेषकहरूका अनुसार यो आपूर्ति संकट र महँगीको अवस्था सन् २०२७ अगाडि सहज हुने कुनै सम्भावना नरहेको विभिन्न टेक सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय