काठमाडौँ। बाह्रै महिना अनुकूल वातावरणमा तरकारी उत्पादन गर्न प्लास्टिक टनेल प्रविधि प्रभावकारी बन्दै गएको छ।
प्लास्टिक घर निर्माण गरी प्रविधिमैत्री ढंगबाट गरिने तरकारी खेतीले प्रतिकूल मौसममा पनि उत्पादनलाई निरन्तरता दिन सहज बनाएको छ।वर्षा, चिसो हावा तथा तापक्रममा हुने उतारचढावबाट बालीलाई जोगाउन सकिने भएकाले प्लास्टिक टनेलमा तरकारी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो। टनेलभित्रको तापक्रम र वातावरणलाई आवश्यकताअनुसार व्यवस्थापन गर्न सकिने हुँदा मौसममा निर्भरता कम हुने र विभिन्न समयमा तरकारी उत्पादन गर्न सकिने किसानहरूको अनुभव छ।खुला खेतमा मौसमका कारण हुने क्षति न्यूनीकरण गर्दै नियमित उत्पादन र आम्दानीको सम्भावना बढाउने भएकाले पछिल्लो समय प्लास्टिक टनेल प्रविधि तरकारी खेतीका लागि उपयोगी विकल्पका रूपमा स्थापित हुँदै गएको छ। प्रविधिको उचित प्रयोग र व्यवस्थापन गर्न सके वर्षभरि नै गुणस्तरीय तरकारी उत्पादन गर्न सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।






