काठमाडौं । बारम्बार सर्दै आएको १४औं दक्षिण एसियाली खेलकुद (साग) को फेरि नयाँ मिति तय गरिएको छ ।
पाकिस्तानको इस्लामाबादमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४औं साग सन् २०२७ अप्रिल ३ देखि ११ अर्थात् २०८३ चैत २० देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकबाट २८ खेल समावेश गर्ने निर्णय समेत भएको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३x३ र ५x५), बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, कराते, रोइङ, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन र उसु पुरुष तथा महिलादुवै विधामा खेलाइनेछन्।
यस्तै, बिलियर्ड्स एन्ड स्नुकर, बीच ह्यान्डबल, हक्की, रग्बी सेभेन्स र बीच भलिबल भने पुरुषतर्फ मात्र समावेश गरिएका छन्।
नयाँ निर्णयअनुसार प्रतियोगिता सन् २०२७ अप्रिल मा हुनेछ । यसअघि पछिल्लो निर्णयमा १४औं साग सन् २०२७ मार्चमा गर्ने भनिएको थियो ।
नेपालमा सन् २०१९ मा १३औं साग सम्पन्न भएपछि पाकिस्तानले १४औं संस्करण आयोजना गर्ने जिम्मेवारी लिएको थियो । त्यसयता दक्षिण एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद प्रतियोगिता हुन सकेको छैन ।
सुरुमा १४औं साग सन् २०२३ मार्च मा गर्ने तय भएको थियो । त्यसपछि २०२४ मार्चमा सारियो, तर त्यो मिति पनि कार्यान्वयन भएन । त्यसपछि सन् २०२६ जनवरी हुँदै मार्चमा गर्ने निर्णय गरिएको थियो, तर फेरि स्थगित भएको थियो ।
दक्षिण एसियाली खेलकुद हरेक चार वर्षमा आयोजना गर्ने अवधारणासहित सुरु भए पनि सन् १९८७ देखि केही समय दुई–दुई वर्षको अन्तरालमा सञ्चालन भएको थियो । पछिल्लो दुई दशकयता भने प्रतियोगिता नियमित हुन सकेको छैन ।
१०औं साग सन् २००६ मा भएपछि ११औं संस्करण चार वर्षपछि २०१० मा आयोजना भयो । त्यसको ६ वर्षपछि २०१६ मा १२औं साग सम्पन्न भयो भने १३औं संस्करण २०१९ मा नेपालले आयोजना गरेको थियो ।
अब नयाँ मितिअनुसार दक्षिण एसियाली खेलकुद ८ वर्षपछि पुनः आयोजना हुने भएको छ ।






