काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्न आफूलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयास गरिरहेको गुनासो गरेका छन् ।
सोमबार सचिवालयमार्फत् गम्भीर ध्यानाकर्षण पत्र जारी गर्दै उनले पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेको जनाएका छन्।
सचिवालयले धर्मनिरपेक्षवादी हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पारेको छ। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा नागरिकलाई धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु रहेको उनको भनाइ छ।
त्यस्तै, विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको भन्दै त्यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित भएको भट्टराईको सचिवालयले जनाएको छ।
हिन्दू धर्मभित्र रहेको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानताका विषयमा हुने बहसलाई केही हिन्दूवादी समूहले पूर्वाग्रहपूर्ण ढंगले प्रचारको विषय बनाएको आरोप पनि सचिवालयले लगाएको छ।
कुनै पनि धर्म, संस्कृति वा परम्पराभित्र रहेका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु, आलोचनात्मक बहस गर्नु र सुधारको पक्षमा आवाज उठाउनु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको सचिवालयले उल्लेख गरेको छ।
सामाजिक न्याय र समानताका पक्षमा हुने बहसलाई धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा व्याख्या गर्नु तथ्यलाई तोडमरोड गर्नु भएको उसको भनाइ छ।
भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्रीको तोडमरोड र भ्रामक व्याख्यामार्फत प्रस्तुत गर्नु गैरजिम्मेवार राजनीतिक तथा सामाजिक व्यवहार भएको सचिवालयले जनाएको छ।
सचिवालयले पछिल्लो समय केही व्यक्तिले धम्कीपूर्ण तथा भय सिर्जना गर्ने सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको र योजनाबद्ध रूपमा भ्रामक भाष्य निर्माण भइरहेको दाबीसमेत गरेको छ।
यस्ता गतिविधिले व्यक्तिको सुरक्षा र प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामै असर पार्न सक्ने भन्दै सचिवालयले यसलाई सामान्य प्रचारबाजीका रूपमा नलिन आग्रह गरेको छ।
सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन आम नागरिकलाई अपिल गरेको छ।
साथै, यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूह र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खातामाथि सरकारले निगरानी राखी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनअनुसार कारबाही गर्न पनि आग्रह गरेको छ।
अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा तथा सामाजिक सद्भावमा आघात पुर्याउने गतिविधिमा राज्यले प्रभावकारी कानुनी हस्तक्षेप गर्नुपर्ने सचिवालयको भनाइ छ।






